सिँजादर्पण, काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त हुनुभएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८2/०2/२8 को (माननीय मन्त्रीस्तर) निर्णय बमोजिम मिति २०८2/०2/२8, च.नं. संस्थान/३१७८ को नियुक्ति पत्रबाट उहाँलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ ।
यसअघि उहाँ कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आउनु भएको थियो भने आज (२०८२ जेठ २८ गते) देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको छ । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बी.ई. गर्नुभएको छ ।
उहाँले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नुभई २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिनुभएको थियो । भने उहाँ २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त हुनुभएको थियो । पदभार ग्रहण गर्नुहुँदै नेपाल टेलिकमका नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
