सिँजादर्पण, काठमाडौँ ।संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटका अवसरमा दुई मुलुकका बीचको आपसी सम्बन्ध र बहुपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले आजै गेट्स फाउन्डेसनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रमलाई पनि सम्बोधन गरे ।
उनका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए । प्रधानमन्त्री ओलीले यस प्रकारको स्वतन्त्र आयोगले अल्पविकसित र साना मुलुकको विकासका लागि देखिएको लगानीको खाडल पूर्ति गर्न योगदान दिनसक्ने बताए ।
‘यो आयोग स्थापनाको पहलका लागि म खुसी व्यक्त गर्दछु । यसले सामाजिक र आर्थिक विकासमा सहायता वृद्धि भई लगानीको प्राथमिकता र विश्लेषणका लागि सन्तुलन मिलाउन सहयोग गर्नेछ’, प्रधानमन्त्री ओलीले भने, ‘पेरिस सम्झौतासमेतका आधारमा विश्वको समग्र आर्थिक अवस्था, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनको मूल्याङ्कन गरी आर्थिक दिगोपनामा लाग्नुपर्छ । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेको अवस्थामा हामीजस्ता मुलुकका लागि विकासमा रहेको आर्थिक खाडल पूर्तिका लागि विश्व आर्थिक प्रणालीको पुनरावलोकन गर्नुपर्छ ।’
