म्याग्दी-हिमाली जिल्ला म्याग्दीमा पनि डेङ्गु रोगको जोखिम देखिएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतमा चार जना डेङ्गु रोगको बिरामी भेटिएपछि म्याग्दीमा पनि सर्तकता अपनाउन आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित ‘डेङ्गु रोग नियन्त्रणसम्बन्धी छलफल कार्यक्रम’मा सवारीसाधनका ग्यारेजमा रहेका टायर, गमला, फूलदानी, पानीट्याङ्की, पानीको मुहान, फोहर सङ्कलन केन्द्र, कवाडी राखिएका ठाउँको अवस्थालाई हेर्दा बेनी डेङ्गु जोखिममुक्त नभएको उनीहरुले बताएका छन् ।
स्वास्थ्य कार्यालयका प्रमुख प्रकाशराज शर्माले म्याग्दीमा कुनै पनि बेला डेङ्गु रोग फैलिन सक्ने भएकाले सर्तकता अपनाउनुपर्ने बताए । “डेङ्गु नियन्त्रणको एक मात्र उपाय भनेको नियमित सरसफाइ मात्रै हो”, उनले भने, “पानी जम्न सक्ने भाँडामा लामखुट्टेले फुल पार्ने भएकाले त्यसमा सबै सचेत हुनुपर्छ ।” लाखमुट्टेको फुल नष्ट गर्नका लागि पनि सफा पानी जम्न नदिने र नियमित सफा गर्नुपर्ने उनको भनाइ छ ।
गण्डकी प्रदेशसभाका सदस्य विनोद केसीले प्रदेश सरकारले डेङ्गु रोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जिल्लाभित्र सचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने बताए ।
