काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरेलगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज एकाएक बढेको छ ।
कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवका क्रममा आज अर्थमन्त्री खतिवडाले शेयर बजार घटिरहेको अहिलेको स्थितिमा नवप्रवेशीका लागि उपयुक्त समय रहेको धारणा राख्नुभएपछि बजार एक्कासि बढेको हो । बजार खुल्नेबित्तिकै आइतबार र सोमबारकै लयमा घट्न थालेको थियो । जब अर्थमन्त्रीको उक्त धारणा सार्वजनिक भयो तब बजारले उकालोको यात्रा तय ग¥यो । कारोबार शुरु भएको २८ मिनेटसम्म स्थिर रहेको बजार त्यसपछि भने एकाएक बढ्न थाल्यो ।
नेप्से परिसूचकको उकालो यात्रा अपराह्न १ बजेर २७ मिनेटसम्म निरन्तर रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक २६.९१ बिन्दुले बढेर एक हजार १५०.७४ मा पुगेर रोकिएको छ । प्रतिशतका आधारमा नेप्से २.३९ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै सेन्सेटिभ परिसूचक २.१२ प्रतिशत अर्थात ५.२२ बिन्दुले बढेर २५१.५७ मा पुगेको छ । नेप्से परिसूचक वृद्धिको तुलनामा कारोबार रकम भने बढ्न सकेन । आज कुल १७१ कम्पनीको १३ लाख ७७ हजार ९४६ कित्ता शेयर रु ३८ करोड ३९ लाख ५७ हजार ४२६ मा खरिदबिक्री भए ।
स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये ११ उपसमूहको शेयर उकालो लागेको भने सामूहिक लगानी कोष भने घटेको छ । कोष ०.०४ प्रतिशतले घटेको छ । बैङ्किङ २१.०७, व्यापार २.२८, होटल ५७.७९, विकास बैङ्क २६.७७, जलविद्युत् ३९.५, वित्त ८.४६, निर्जीवन बीमा ८८.५७, उत्पादन १०७.१, अन्य २०.२६, लघुवित्त ३०.२ र जीवन बीमा १०२.९३ अङ्कले बढ्यो ।
