काठमाडौँ । ठूला र शक्ति राष्ट्रहरुमध्ये रुसमा कोराना भाइरसको प्रभाव कम छ । अहिलेसम्म सार्वजनिक भएका विवरणअनुसार तीन जनाको मृत्यु भएको बताइएको छ तर रुसले भने आधिकारिक रुपमा केही बताएको छैन ।
बीबीसीले सार्वजनिक गरेको विवरणमा रुसमा कोरोनाबाट ६ सय ५८ जना संक्रमित भएको उल्लेख गरिएको छ । अन्य देशहरुको तुलनामा रुसमा कोरोना नियन्त्रणमै छ । कुनै आपत्तकालिन वा लकडाउन गरिएको छैन ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कोरोनाभाइरसका बिरामीलाई भेट्न अस्पतालमा गइरहेको फोटो सार्वजनिक भएको छ । प्रतिरोधी पहिरनमा पुटिन विज्ञ र सहयोगीहरुको साथ कोरोनाका बिरामीको अवस्था बुझ्न अस्पतालमा गएको बताइएको छ ।
सो अबसरमा पुटिनले उपचारको सबै जिम्मा सरकारले लिने जानकारी दिँदै कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिएको बताइएको छ ।
यसअघि चीनका राष्ट्रपति सी जिनफिङ पनि अस्पतालहरुमा पुगेर बिरामीको अवस्थाको जानकारी लिएका थिए । सीले चोक र गल्लीमा पुगेर नागरिकलाई हौसला दिइरहेको थिए ।
अन्य देशका राष्ट्र र सरकार प्रमुख भने घरमै लुकेर बसेका छन् । भटाभट नागरिक कोरोनाबाट मृत्यु हुँदा उनीहरुको सक्रियताको कमी हुँदै गएको भन्दै आलोचना पनि भइरहेका छन् ।
यता नेपालमा पनि अहिलेसम्म तीनजनामा संक्रमण देखिएको छ । दुईजनाको टेकुस्थित शुक्रराज सरुवा अस्पतालमा उपचार भइरहेको छ । त्यहाँ कुनै मन्त्री वा पार्टीका नेता गएका छैनन् ।
