सिजादर्पण १३ बैशाख काठमाडौँ — अहिले सिंगो विश्व कोरना भाइरस ९कोभिड–१९० को महाव्याधिविरुद्ध लड्दै छ । प्रत्यक्ष परोक्ष रूपमा संसारका २०० भन्दा बढी देश यसबाट प्रभावित छन् ।डिसेम्बर, २०१९ को अन्तिमताकादेखि चीनको हुवेई प्रान्तको वुहानमा पहिलोचोटि देखिएको यसको संक्रमण जनवरीको मध्यतिर आइनपुग्दै करिव ३७५ जनामा फैलियो। लगत्तै यो महाव्याधिविरुद्ध चीनले तीव्र अभियान छेड्यो। सन् २००२ को सार्स भाइरसको महामारीबाट चेतेको चीनले नयाँ भाइरसविरुद्धको अभियानलाई लडाइँकै रूपमा लियो। पूर्वी एसियाका अरू देशजस्तो सिंगापुर, जापान र दक्षिण कोरियाले पनि नगण्य क्षतिमा भाइरसविरुद्धको युद्ध जित्दै छन्। अझ सिंगापुर त यति तयारी अवस्थामा थियो कि, सन् २००२ पछि उसले ठूलाठूला सुविधासम्पन्न सरकारी अस्पतालहरू बनाएको थियो। जनताकेन्द्रित मजबुत स्वास्थ्य प्रणालीमार्फत कुनै पनि विपद्सँग जुध्न ऊ तयार थियो। सन् २००२ को सार्स महामारीले पूर्वी एसियाका निम्ति ‘वेक अफ कल’ को रूपमा काम गरेको थियो। योभन्दा पनि महत्त्वपूर्ण उनीहरू सबैभन्दा कम नवउदारवादी थिए। यी देशले शिक्षा, स्वास्थ्य, रोजगारीलाई राज्यको दायित्व बनाएका छन र बजारलाई स्वेच्छदारी ढंगले चल्न दिएका छैनन्।
चीनमा हजारौंको संख्यामा भाइरस फैलिरहँदा युरोप तथा अमेरिकामा केही एकाध व्यक्तिमा संक्रमण देखिएको थियो। उनीहरूलाई यो महाव्याधिविरुद्ध लड्ने पर्याप्त समयको सुविधा थियो। रोगविरुद्धको लडाइँ लड्न छाडेर राष्ट्रपति ट्रम्प त्यसलाई चिनियाँ भाइरस र वुहान भाइरसको उपमामार्फत चिनियाँहरूलाई अपमान र दानवीकरण गर्नपट्टि लागे। त्यसपछि फेब्रुवरीमा आफ्नो सुरक्षा गठबन्धन भारतका प्रधानमन्त्री मोदी भेट्न भारत आए। उनलाई गुजरातको रंगशालामा १० लाख मान्छेले स्वागत गर्ने भनेर लोभ्याइएको थियो। तसर्थ उनले यो महाव्याधिविरुद्धको लडाइँ लड्ने महत्त्वपूर्ण समय खेर फाले। लेखिका अरुन्धती रोयकै शब्दमा भन्नुपर्दा यदि यो साँच्चिकै लडाइँ हुन्थ्यो भने शक्ति राष्ट्र अमेरिकासँगको जस्तो बन्दुक, बम, बंकर, पनडुब्बी, लडाकु विमान, आणविक हतियार अरू कोसँग हुन्थ्यो होला ररु तर जब संक्रमण हजारौं अमेरिकी जनतामा फैलियो, अमेरिकासँग पर्याप्त मास्क, पन्जा, भेन्टिलेटर, पीपीईलगायतका सामग्रीको अभाव थियो।
संसारभरिकै अर्थतन्त्रको आधा हिस्सा ओगट्ने वैभवशाली देशलाई यस्ता उपकरण किन्न धेरै खर्च लाग्ने थिएन। रकमभन्दा पनि उसको प्राथमिकता केमा हो भन्ने कुराले ठूलो अर्थ राख्छ। ट्रम्पले सरुवा रोग नियन्त्रणको अनुसन्धान बजेट कटौती गर्दै अमेरिकी सुरक्षा परिषद्अन्तर्गतको महामारीविरुद्ध काम गर्ने समिति खारेज गरिदिए। फलस्वरूप अहिले सिंगो विश्वले मूल्य चुकाउँदै छ। सरुवा रोग र जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान बजेट काट्नु ट्रम्पको महाभुल थियो। ठुलाठुला औषधी कम्पनीहरुले पनि सरुवा रोगको अनुसन्धानमा ध्यानै दिएनन्। पुँजीको सञ्चय र नाफा नै पश्चिमा जीव विज्ञान र औषधि कम्पनीको मूल सरोकारको विषय रह्यो। उनीहरूको ध्यान निको बनाउनमा मात्रै बढी केन्द्रित भयो। रोग लाग्नुभन्दा रोगको बाटो छेक्नतिर उनीहरूको ध्यान कहिल्यै गएन।
पुँजीवादले अनन्त पुँजीको सञ्चय र नाफालाई आफ्नो मूलमन्त्र बनाएको छ र राज्यका विभिन्न संस्थाहरूलाई त्यही साँचोमा ढालेको छ। प्रकृति र अन्य जीवजन्तुको विनाश, फोहोर र सुक्खा नदीनाला, धूवाँले भरिएको आकाश, रूखहरूको फँडानी र मूल्यविहीन मान्छेको जीवनका पछाडि यही असीमित पुँजीवादी लोभ जिम्मेवार छ। अनन्त पुँजीको सञ्चय र नाफालाई मूलमन्त्र बनाएको सिंगो विश्वलाई अहिले भाइरसले जिस्काइरहेको छ। २४ घण्टाभित्र यसले क्रुज तथा हवाहजहाजबाट संसारको एउटा कुनाबाट अर्को कुनामा यात्रा गर्यो। शक्ति राष्ट्रले विकास गरेका जासुसी संयन्त्र, बायोमेट्रिक्स, सीसीटीभी क्यामरालगायतका हरेक नागरिक निगरानीका संयन्त्रले यसलाई रोक्न सकेनन्। हालसम्म यसले संसारलाई नै यसले एउटा बन्दीगृहमा परिणत गरिदिएको छ। सिंगो पुँजीवादी विश्वव्यवस्था र मानव आवतजावतका सम्पूर्ण माध्यमहरूलाई ठप्प बनाइदिएको छ।
अर्थशास्त्रीहरू यसले १९३० पछिदेखि हालसम्मको सबैभन्दा ठूलो आर्थिक मन्दी ल्याउने आकलन गरिरहेका छन्। यद्यपि यो कुरा संकट कति लम्बिन्छ भन्ने कुरामा भर पर्छ। देशपिच्छे स्वास्थ्य प्रणालीको सामर्थ्य हेरी यो एक वर्ष वा त्योभन्दा बढी पनि लम्बिन सक्ने अनुमान छ। विपद्विरुद्धको यो लडाइँ यस अर्थमा फरक छ कि यसको कुनै वैश्विक नेतृत्व छैन जुन पहिलाका महामारी तथा विपद्मा अक्सर हुने गर्थ्यो। ट्रम्पको उदयपछि अमेरिका प्रथम भन्ने नीतिको नाममा उसले विश्वको नेतृत्व त्याग्यो। त्यसैले यस महाव्याधिविरुद्ध राज्यहरू एक्लाएक्लै लड्दै छन्। उनीहरूको जित राज्यको सामर्थ्य, जवाफदेहिता, स्वास्थ्य प्रणाली, नागरिक अनुशासन र सहयोगमा भर पर्नेछ। स्वनिर्भर अर्थतन्त्र, बलियो राज्य, जवाफदेही प्रशासन र राम्रो स्वास्थ्य प्रणाली भएका देशले ढिलो–चाँडो यसलाई परास्त गर्लान्। तर हाम्रोजस्तो परनिर्भर अर्थतन्त्र, भ्रष्ट र कमजोर राज्य र स्वास्थ्य प्रणाली भएको देशमा यो साँच्चिकै फैलियो भने लडाइँ चुनौतीपूर्ण हुनेछ।
चुलिँदो संकट
पुँजीवादी विश्वव्यवस्था एक त पहिल्यैदेखि संकटमा थियो। उदाहरणका लागि दक्षिण अमेरिकादेखि मध्यपूर्वमा भइरहेका आन्दोलनले यो धर्मराउँदो अवस्थामा थियो। अहिलेको महाव्याधिले यसको इन्जिन नै ठप्प पारिदिएको छ। लकडाउन, सेल्फ आइसोलेसनले उत्पादन, उपभोग, वितरण तथा पुनर्लगानीको चक्रलाई ध्वस्त बनाइदिएको छ। प्रसिद्ध भूगोलविद् डेभिड हार्भीका अनुसार एकातिर यसले उत्पादन तथा पुनर्लगानीलाई असर गरेको छ भने अर्कोतिर व्यापक पैमानको उपभोगलाई ठप्प बनाइदिएको छ। उत्पादन, पुनर्लगानी र व्यापक पैमानाको उपभोगको संस्कृतिलाई ठप्प पारेर अनन्त पुँजी जम्मा र सञ्चयको मुटुमै प्रहार गरिदिएको छ।
उदाहरणका लागि वुहानबाट सुरु हुँदै क्रमशः युरोप र अमेरिकालगायत संसारभरका उत्पादनका केन्द्र केही समयका निम्ति बन्द गरेको छ भने व्यापक उपभोगलाई शून्यमा झारिदिएको छ। जस्तो संसारभरिका हवाई सेवा, होटल, यातायात, पर्यटनलगायतका हस्पिटालिटी उद्योगहरू तहसनहस भएका छन्। हवाई सेवा बन्द र होटल उद्योग खाली छन्। सबै किसिमका निर्माण कार्य ठप्प छन्। स्टक मार्केट ओरालो लागेको छ। स्कुल तथा विश्वविद्यालय बन्द छन्। संकट यदि लम्बियो भने उत्पादन तथा वितरणको सञ्जाल छोट्टिने र विविधीकृत हुने र त्यो कम श्रमिकप्रधान हुने देखिएको छ। यस्तो अवस्थामा कृत्रिम नागरिक निगरानीका साधनहरूको प्रयोग व्यापक परिमाणमा बढ्ने देखिएको छ। तर व्यापक उपभोग भने उठ्नै नसक्ने गरी थला परेको छ। यो दोस्रो व्यवसाय पुँजीले उत्पादन गरेका वस्तु बेच्नका निम्ति खडा गरिएको थियो। अर्थतन्त्रको यो कति महत्त्वपूर्ण हिस्सा रह्यो भन्ने कुरा सन् २०१० देखि २०१८ सम्म विश्व भ्रमण गर्ने पर्यटकको संख्या ८० करोडबाट १ अर्ब ४० करोड पुग्नुले पनि पुष्टि गर्छ।
उत्पादन तथा व्यापक उपभोग हालको पुँजीवादी विश्वव्यवस्थाले पुँजीको जम्मा तथा सञ्चय गर्न रचना गरेको हो। अनन्त पुँजी जम्मा केवल अनन्त पुँजी सञ्चयका निम्ति गर्न प्रेरित गर्ने व्यवस्थाले मानिसलाई लोभी, लालची, व्यक्तिवादी, स्वार्थी, अमानवीय र घोर उपभोक्तावादी बनाइदिएको छ। यसले समाजका मूलभूत संस्थाहरू जस्तो व्यक्ति, परिवार, बजार, राज्य, जातजाति यही साँचोमा ढालेको छ। हालको महाव्याधिले यसको उत्पादन तथा उपभोगको चक्रमा धावा बोलेर उत्पादित वस्तु स्टकमा थन्कने र बिक्री हुन नसक्ने हुनाले पुँजीको सञ्चय घटाउने निश्चित छ।
यसका असर बहुआयामिक छन्। पहिलो यो अवरुद्धताले संसारलाई आर्थिक मन्दीतर्फ धकेलेको छ। यसले ३० प्रतिशतसम्म रोजगारी कटौती गर्ने आकलन छ। आप्रवासी कामदार कामबाट निकालिने सम्भावना त्यत्तिकै बढी छ। संक्रमणको कुरूप पहिलो छनोटमा पनि आप्रवासी कामदार, सहरी गरिब, सुकुम्बासी, ज्यालादारी मजदुर नै देखिएका छन्। एकातिर उद्योग वा र्निमाण कम्पनी बन्द हुँदा उनीहरूले जागिर गुमाउनुपर्ने स्थिति छ, भने अर्कार्तेर्फ संक्रमणको बढ्ता जोखिममा उनीहरू नै छन्। सेल्फ आइसोलेसनमा बस्नुपर्ने र घरैबाट काम गनुपर्ने यो समयमा, यो सुविधा केवल पुँजीपति, सहरी प्रशासक, उपल्लो वर्ग, र प्राविधिकलाई मात्रै हुन्छ। गरिब तथा मजदुरलाई सेल्फ आइसोलेसनमा बस्ने र घरैबाट काम गर्ने सुविधा हुँदैन। त्यसैले अमेरिका, युरोपका ग्रोसरी स्टोर, डिपार्टमेन्टल स्टोर, ग्यास स्टेसनमा काम गर्नेदेखि अरब, जापान, कोरिया, भारत, नेपाल सर्वत्र काम गर्ने गरिब तथा मजदुर संक्रमणको पहिलो उच्च जोखिममा छन्।
जनजीवन एकदमै धिमा हुने हुनाले यो संकट समाजको भ्रष्ट र अनैतिक तप्काका निम्ति वरदान पनि हुन सक्छ। उदाहरणका लागि अमेरिकामा बिल गेट्स र चीनमा ज्याकमाले आफ्नो आम्दानीको ठूलो हिस्सा नागरिकको ज्यान जोगाउन लगाइरहेको बेला नेपालका एक व्यापारीले ३००० पर्ने ज्वरो नाप्ने थर्मल गनलाई पाँच गुणा बढीमा कालो बजारी गरिरहेका थिए। त्यस्तै कोरोनाको भय व्याप्त हुँदै गर्दा सर्जिकल मास्क लुकाइयो। बजारमा ग्यासको कालोबजारी भयो। त्यस्तै चीनबाट खरिद गरिएको पीपीई, मास्क, टेस्ट किट्सजस्ता स्वास्थ्य सामग्रीमा पनि अनियमितता देखियो। हुँदाहुँदा रोम जल्दा निरोले बाँसुरी बजाएको शैलीमा प्रधानमन्त्रीले त्रासदीविरुद्ध लड्न छाडेर पार्टी फुटाउने र स्वेच्छाचारी ढंगले संवैधानिक पद हत्याउन पाउने गरी अध्यादेश ल्याए।
महाव्याधिले सामाजिक दूरीको क्षेत्रमा पनि केही महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्छ। पहिल्यैदेखि जात, धर्म, वर्ग, राष्ट्रियतामा विभाजित समाजमा यसले नयाँ खाडल सृजना गर्न सक्छ। उदाहरणका लागि सिमानाकामा भारतबाट फर्केका नेपाली कामदारमाथि हाल राज्यले नै बिनापरीक्षण भाइरसबाहक र अपराधीलाई गर्नेजस्तो व्यवहार गरिरहेको छ। आफ्नो ढोकैमा पुग्दा पनि पुनः उनीहरूलाई बोर्डरपारि लखेटेर क्वारेन्टिनमा राख्ने नाममा भेडाबाख्राजस्तो खाँदेर राखिएको छ। आफ्नै भनिएको देशले यस्तो विभेद गर्छ भने प्रवासमा स्थिति के होला ?
अन्त्यमा,
अहिलेको पहिलो आवश्यकता कसरी यो महाव्याधिबाट जोगिने भन्ने नै हो। त्यसपछि अर्थतन्त्रको उद्धार। यो दुवै नवउदारवादी आर्थिक नीतिबाट सम्भव देखिँदैन। न त राष्ट्रवादी एक्लो प्रयासबाट नै। यसका लागि अन्तर्राष्ट्रियतावादी सामूहिक प्रयासको खाँचो पर्छ। पूर्वकोरोना युगको झगडालु राष्ट्रवादले तत्काललाई यो असम्भव बनाइदिएको छ। सिंगो मानवजातिलाई यो त्रासदीबाट जोगाउन र नयाँ विश्वव्यवस्थाको नेतृत्व गर्न सारा विश्वको आँखा अहिले चीनतर्फ छ। डेभिड हार्भीका विचारमा यदि चीनले नसकेको खण्डमा फेरि पनि अमेरिकाले नै यसको नेतृत्व गर्न सक्छ। तर फरक नीति तथा शैलीमा। उसले सिद्धान्तमा नवउदारवादी पुँजीवादी तर व्यवहारमा समाजवादी व्यवस्था लागू गर्न सक्छ। तर डोनाल्ड ट्रम्पको अमेरिका प्रथमको राष्ट्रवादी आवरणमा त्यो वर्नि स्यान्डर्सले वकालत गरेको भन्दा पनि अझ समाजवादी हुन सक्छ,। यो संकटको घडीमा संसारलाई हिंसा तथा आन्दोलनबाट जोगाउने नाममा अमेरिकाको आसन्न आमर्निवाचन रद्दमार्फत ट्रम्पको साम्राज्यवादी राष्ट्रपतिकाल पनि सुरु हुन सक्छ।
चलाउने त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रका उपप्राध्यापक हुन्।कान्तिपुरमा प्रकाशन गरियको छ।
