कल्पना गर्नुुस् कि मिलियापलिसको सडकछेउ भएको जर्ज फ्लोयडको हत्याको भिडियो कसैले खिचेन । त्यस्तोमा फ्लोयड प्रहरीले इन्काउन्टरका क्रममा मरे भन्ने एउटा वक्तव्य आउँथ्यो र घटना त्यसै सेलाउँथ्यो । धेरैले उनको नाम सुन्ने थिएनन् ।
तर, उनको हत्या भिडियोमा कैद भयो र बाहिर आयो । धेरैजना यसबाट आक्रोशित भएर सडकमा उत्रिएका छन् । भिडियोले उजागर गरेको नश्लवाद लिन्चिङजत्तिकै गहिरो छ । तर, अमेरिकाका अन्य कैयौँ रंगभेदी असमानताका कुनै भिडियो छैन, जसले गर्दा तीविरुद्ध मानिसले आवाज उठाइरहेका छैनन्- वासिंटन डिसी, मिजोरी, अलाबामा, लुजियाना, मिसिसिपीलगायत धेरै राज्यमा आजको दिनमा जन्मिने एक अश्वेत बालकको औसत जीवनकाल बंगलादेश वा भारतमा जन्मिने बालकको भन्दा छोटो हुने कुरा कुनै भिडियोले खिचेको छैन ।
अश्वेत बालबालिकाहरू प्रणालीगत रूपमा दोस्रो दर्जाका विद्यालयमा पढ्छन् भनेर देखाउन कुनै भिडियोहरू छैनन् । लगभग १५ प्रतिशत अश्वेत अथवा हिस्पानिक विद्यार्थी सेग्रेगेसन युगमा जस्तै श्वेत समुदायका विद्यार्थीको उपस्थिति लगभग शून्य हुने विद्यालयमा पढ्छन् ।
कोरोना भाइरसबाट श्वेत समुदायको मानिसको तुलनामा अश्वेत समुदायका सदस्य दोब्बर दरमा मरिरहेका छन्, आधाभन्दा थोरै अफ्रिकी–अमेरिकी वयस्क मात्रै अहिले रोजगार छन् । यी देखाउने कुनै भिडियो छैन ।
इतिहासभर अश्वेत अमेरिकीले रगत-पसिना गरी लडेर हासिल भएका उपलब्धि रंगभेदका कारण कार्यान्वयन हुन सकेका छैनन्, त्यसैले धेरै सामाजिक क्षेत्रमा अझै विभेद विद्यमान छ ।
‘मौन तर उत्तिकै प्राणघातक अर्को प्रकारको हिंसा पनि चलिरहेको छ । यी रातका गोली वा बमभन्दा विध्वंसात्मक छन्,’ रोबर्ट एफ केनेडीले उनको हत्याको केहीअघि १९६८ मा भनेका थिए, ‘उपेक्षा, अकर्मण्यता र सुस्त क्षय, यो राज्य तथा संस्थानले गर्ने हिंसा हो । यो हिंसाले गरिबलाई सताउँछ र यसले फरक रंगका मानिसबीचको सम्बन्धमा दरार उत्पन्न गराउँछ ।’
स्वास्थ्य तथ्यांकहरू यही हिंसाका साक्षी छन् । अमेरिकामा एक अश्वेत अभिभावकको शिशु बाल्यकालमै मर्ने सम्भावना श्वेत अभिभावकको शिशुभन्दा दुई गुणा बढी हुन्छ । र, अश्वेत महिला गर्भको समयमा मर्ने सम्भावना श्वेत महिलाभन्दा अढाई गुणा बढी छ । हारवार्ड स्कुल अफ पब्लिक हेल्थका डिन मिचेल ए विलियम्स रंगभेदको असर जनस्वास्थ संकटसरह रहेको बताउँछन् । ‘रंगभेदका कारण उत्पन्न प्रहरी ज्यादतीका कारण असमान रूपमा अश्वेतको ज्यान गइरहेको छ । रंगभेदको असर सामाजिक पक्षमा पनि झल्किन्छ । विगतमा अश्वेतहरूले भोग्नुपरेको दास प्रथा र सेग्रेगेसनको अवशेष स्वास्थ्य क्षेत्रमा देखिन्छ ।’
‘इतिहासभर अश्वेत अमेरिकीले लडेर, रगत बगाए र मरेर हासिल गरेको उपलब्धि उपभोग गर्नबाट रंगभेदले रोकिराखेको छ । यो विभिन्न रूपमा देखिन्छ । आजको दिनमा अश्वेत समुदायको बस्तीमा रहेका सार्वजनिक विद्यालयमा पर्याप्त लगानी हुँदैनन् । तिनको बस्तीका लागि योजना भएका स्वास्थ्य सेवा र सामाजिक कार्यक्रम अघि बढ्न सक्दैनन् । अर्कोतर्फ अश्वेतहरूलाई निश्चित सरकारी तथा निजी सेवाबाट वञ्चित गर्ने ‘रेडलाइनिङ’ प्रथा अझै चलिरहेको छ । अनि ठूलो संख्यामा अश्वेतहरूको कारावास, तीमाथि अत्यधिक प्रहरी ज्यादती र अन्य थप धेरै रंगभेदी व्यवहार जारी छ । यसले अश्वेतका स्वास्थ्यमा हानि पु¥याइरहेको कारणले अश्वेतहरू अल्पायुमै मर्न बाध्य छन् ।’
केही दिनअघि पेड्रियाट्रिक इन्फेक्टियस डिजिज सोसाइटीले एक वक्तव्य जारी गर्दै भन्यो-‘बालबालिकाको स्वास्थ्यका लागि संरचनात्मक रंगभेद कोभिड–१९ वा अन्य कुनै सरुवा रोगभन्दा बढी खतरनाक छ ।’ ओलान्डो प्याटरसनजस्ता समाजशास्त्रीले उल्लेख गरेअनुसार श्वेत समुदायमा नश्लबारे विचार बिस्तारै प्रगतिशील हुँदै गएको छ । तर, अर्कोतर्फ सो समुदाय अझै पनि अफ्रिकी–अमेरिकनलाई बेफाइदा हुने नीतिलाई समर्थन गर्छन् । उदाहरणका लागि, श्वेत समुदाय आफ्नो बस्तीमा धेरैजना बस्न मिल्ने घरबार निर्माणको विरोध गर्छन् । यसले सस्तो घरवासको सम्भावना कम गर्छ र अश्वेतको छुट्टै बस्तीकै नीतिलाई बढावा दिन्छ । तिनले रंगभेदी विद्यालय निर्माण गर्ने खण्डित बजेट प्रणाली समर्थन गर्न सक्छन् ।
‘अलग, न्यून लगानी भएको विद्यालयमा पढ्नुपर्दा विद्यालयको भविष्य नै प्रभावित हुन्छ,’ युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेमा सार्वजनिक नीतिका प्राध्यापक रुकर जोनसन भन्छन् । विद्यालयको जातीय समिश्रणबारे पुस्तक ‘चिल्डेन अफ द ड्रिम’ लेखेका जोनसनका अनुसार अमेरिकामा जातीय समिश्रणको सबैभन्दा उत्कृष्ट अवस्था सन् १९८८ मा थियो । त्यसयता जातीय पृथकीकरण बढ्दै गएको छ । संरचनात्मक रंगभेद प्रहरीको ज्यादतीका भिडियोजस्तो भाइरल हुदैनन् तर यो प्राणघातक हुन्छ ।
बिमा रेकर्डबारे एक पछिल्लो अध्ययनअनुसार कोभिड-१९ का लक्षणका कारण अस्पताल पुगेको अश्वेतलाई तिनको श्वेत समकक्षीको तुलनामा कोरोना भाइरस परीक्षण गर्ने सम्भावना कम छ । यो पढेपछि मैले दिमागमा अश्वेत बिरामीलाई परीक्षण नगर्ने चिकित्सक वा अश्वेतहरूको बस्तीका क्लिनिकमा परीक्षणको व्यवस्था नगर्ने अधिकारीहरूलाई सम्झिएँ । तीमध्ये धेरैमा गलत मनसाय थिएन होला र धेरैले विभेद गरिरहेको छु भन्ने सोच नभई ती कार्य गरिरहेका थिए होलान् । तर, अवचेतन रूपमा रंगभेदी पूर्वाग्रह यत्रतत्र देखिन्छ । यसबाट एडुवार्डो बोनिला-सिल्भाले भन्ने गरेजस्तो ‘रंगभेदीविनाको रंगभेद’ सिर्जना हुन्छ ।
अधिकाशं अनुसन्धानको परिणाम निराशाजनक छ, तर पनि तीन तथ्यले अझै आशा प्रदान गर्छ । धेरै सूचकहरू विगतको तुलनामा सुधार हुँदै गएको देखिएको छ । दोस्रो, समतामुखी नीतिले सुधार गरेको बलियो प्रमाण भेटिन थालेको छ । उदाहरणका लागि, अघिल्लो वर्ष नेसनल एकेडेमी अफ साइन्स, इन्जिनियरिङ एन्ड मेडिसिनले गरेको अध्ययनले बाल गरिबी आधाले घटाउन सकिने देखाएको छ । यसबाट उलेख्य मात्र रंगभेदी असमानता घट्छ । हामीसँग स्रोत–साधनभन्दा पनि राजनीतिक इच्छाशक्तिको अभाव छ । आशाको तेस्रो कारण माथि उल्लेख गरेका बास्केटबल रेफ्रीका पूर्वाग्रहसँग जोडिएको छ ।
रेफ्रीले फरक रंगका खेलाडीमाथि बढी फल दिने अनुसन्धान निष्कर्ष बाहिरिएपछि नेसनल बास्केटबल एसोसिएसन आक्रोशित भयो र त्यहाँभित्र विवाद सुरु भयो । लामो विवादपछि सुधारको मार्गचित्र प्रस्तुत गरियो । यी कदमपछि पूर्वाग्रह लगभग हराएको देखियो । मानिसबीचमा रंगभेदी पूर्वाग्रहबारे आक्रोशित बहस भएपछि त्यसमा सुधार हुने रहेछ ।
