गौरीलाल कार्की
हाम्रो समाजको सामाजिक परिवेश अर्ध सामन्ती नै छ। त्यसको असर घरपरिवार र समाजमा पर्नु स्वभाविक हो। त्यसलाई बदल्न कम्युनिस्ट पार्टी आवश्यक परेको हो। तर स्वयं कम्युनिस्ट आन्दोलन भित्र सामन्तवाद नाचिरहेको छ। कम्युनिस्ट नामधारी मात्रै भएर हुन्न। उसको नीति, सिद्धान्त र व्यबहारसमेत क्रान्तिकारी कम्युनिस्टको हुनुपर्छ। तर आज आफुलाई कम्युनिस्ट बताउने सबै संगठनमा कम्युनिस्ट नीति सिद्धान्तको आवरणभित्र डरलाग्दो सामन्तवाद हुर्कदै गएको छ। त्यसलाई बुझ्ने विषय अत्यन्तै कठिन छ तर बुझ्न सकिन्छ।
सामन्तवादले नेपाली समाजमा लामो समयदेखि सिर्जनात्मक क्षमताको हत्या गर्यो। त्यो क्षमता एउटा निश्चित वर्ग, कूल वा वंशमा मात्र हुने कुरा स्वीकार गरायो। सामान्य मान्छेमा देशको नेतृत्व गर्नसक्ने क्षमता हुने वा त्यो क्षमता हासिल गर्नसक्ने कुरालाई इन्कार मात्र होइन बहिस्कार नै गर्न लगायो। परिवर्तन र अधिकार खोज्नेहरु माथि चरम दमन गरियो। सायद समाज सचेत नभएको कारण लामो समयसम्म उतिबेला कतै जन्मने क्षमताहरुलाई पनि समाजले पूरै दबाएर राख्न बाध्य पारियो। पूरै दुरुत्साहन गरेर दवाइयो। अथवा नेपाली समाजलाई त्यसमा अभ्यस्त बनाइयो।
आज कम्युनिस्ट आन्दोलन भित्र पनि त्यही तरिका अपनाउने गरिदैछ। तर यो अस्थायी कुरा हो। हामीले विश्वास गर्नुपर्छ कि अन्ततः नेता, कार्यकर्ता र जनता सचेत बन्नेछन्। कम्युनिस्ट आन्दोलन भित्रको सामन्तवाद पराजय हुनेछ। त्यसकारण क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको सुरक्षा र पुनर्निर्माण गर्न कम्युनिस्ट आन्दोलन भित्रको सामन्तवाद खतम पार्नु सचेत नेता कार्यकर्ताको अहिलेको अभिभारा बन्न गएको हो।
सामन्ती प्रवृत्तिको सबैभन्दा खतरानाक खरावी भनेको ज्ञान, चेतना र बुद्धिको विकासमा केही निश्चित वर्गको ठेकेदारी हुनु हो। आफू मात्रै ठिक आफू मात्रै जान्ने बुझ्ने हुन खोज्नु अर्को विशेषता हो। आम नागरिकमा सकेसम्म ज्ञान चेतनाको विकास हुनै नदिनु भए पनि त्यसलाई स्वीकार गर्दै नगर्नु र दमन गरेर सिध्याउनु यसको सबैभन्दा खराब विशेषता हो।
सामन्तवादले सधै आफूलाई धुरीमा राखेर हेर्ने र अरुलाई आफ्नो सेवक ठान्ने गर्छ। सामन्ती सोचले आफूभन्दा उमेर वा जिम्मेवारीमा कम रहेको व्यक्तिको क्षमता स्वीकार्नु त के आफ्ना अगाडि बोलेको पनि स्वीकार गर्दैन। बोले पनि उसले बोलेको कुराको जसजति उही अगुवालाई थोपरेर उहाँकै निगाहमा मैले यति कुरा बोले भन्ने शैलीमा भनेपछि मात्रै स्वीकार गर्छ।
नेपाली समाज प्राचीन समयदेखि आजसम्म त्यही सामन्ती सोच, संस्कार, शैली र प्रवृतिले राज गर्नुका साथै त्यसैमा शिक्षित दिक्षित हुँदै आएका कारण आफूलाई अगुवा ठान्ने आजका प्राय सबै राजनीतिक नेताहरुमा त्यो प्रवृति छ। खुबै परिवर्तनकारी तथा आफूलाई प्रजातन्त्रवादी भन्नेहरुदेखि आफूलाई सबैभन्दा खरो क्रान्तिकारी कम्युनिस्ट भन्नेहरुसम्म पनि सामन्ती संस्कार र शैलीबाट ग्रसित छन। नेपालका क्रान्तिकारी कम्युनिस्ट भन्नेहरुका सोच, चिन्तन, शैली र प्रवृतिलाई मसिनो गरी केलाउने, संश्लेषण र विश्लेषण गर्ने हो भने त्यहाँ भित्र पनि कठोर सामन्तवाद रहेको बुझ्न सकिन्छ।
नेपालका प्रायः सबै राजनीतिक दलहरु यही सामन्ती सोच, चिन्तन, परम्परा र बुझाइबाट ग्रसित छन्। जतिसुकै आफूलाई क्रान्तिकारी दावी गरे पनि नेपालका सबै दलका सांगठनिक संरचनाहरु एउटै छन्। राजावादीदेखि समाजवादी व्यवस्थाका लागि लड्छु भन्नेहरुका सांगठनिक संरचनामा कुनै फरक छैन। सबै दलमा तहगत कमिटिहरु छन र केन्द्रीय कमिटि उनीहरुको उच्च अंग हुन्छ।
तर, त्यतिमात्र होइन, यी दलका केन्द्रीय कमिटिको सदस्यमा अधिकांश केवल नेतृत्वको नजिक रहनसक्ने भक्तजन मात्रै चयनको सुचीमा अटाउन सक्छन्। त्यसमा नेतृत्वप्रति आलोचनात्मक चेत भएका नेता र भिन्नमत राख्ने अरु कोही पुग्ने संभावना अत्यन्तै न्यून हुन्छ। त्यसभन्दा पनि माथि सानासाना कमिटि बनाइएका हुन्छन्। कम्युनिस्ट आन्दोलन भित्र तिनीहरुलाई पोलिटब्युरो ९पि बि० र केन्द्रिय कार्यालय भन्ने चलन छ।
त्यहाँ अचेत तथा खास भक्तहरु नै नेतृत्वको निजि सल्लाहकार र योजनाकार सरह मात्रै पुग्न सक्छन्। तर, अन्ततः सबै दलमा एउटा व्यक्ति मात्र हावी हुन्छ। मानौं, जुन त्यो दलको राजा नै हो। सामन्तवादका महाराजधिराजको हुकुम जसरी त्यो शिर्ष नेताबाट जे कुरा हुन्छ, अन्ततः पार्टीको निर्णय नै त्यही हुन्छ। उदाहरणका लागि संवैधानिक राजतन्त्र अपरिवर्तनीय ठान्ने नेपाली काँग्रेसको लामो समय चलेको बैठकमा गिरिजा प्रसाद कोइरालाले न व्याख्या न कुनै ठूलो भूमिका गणतन्त्र पास गराएको उदाहरण हाम्रै अगाडि छ। आफ्नो नीति अनुसार बुद्धिविलास गर्ने काँग्रेसका धेरै नेताहरुलाई चुप लगाउँदै गिरिजा प्रसादले भने, म गणतन्त्र भन्छु, तपाईहरु गणतन्त्र भन्नुस्।
अनि गिरिजाप्रसादले तीन चोटी गणतन्त्र जिन्दावाद भनेपछि काँग्रेसको त्यति लामो संवैधानिक राजतन्त्रको अडान शिवखुलित भयो। भोलिपल्टदेखि काँग्रेस गणतन्त्रको एजेन्डामा दौडियो। त्यहाँ संवैधानिक राजतन्त्र हुनुपर्छ वा गणतन्त्र नै हुनुपर्छ भनेर सैद्धान्तिक व्याख्या विश्लेषण गर्ने कुनै पनि नेताहरुको केही लागेन। यद्यपि संवैधानिक राजतन्त्र भन्दा गणतन्त्र प्रगतिशील कुरा थियो। मैले यहाँ प्रवृत्तिको कुरा गरेको हो।
त्यसैगरी अर्को उदाहरण नेकपा ९ मसाल ० को सन्दर्भमा पनि छ। यस पार्टीका शिर्ष नेतृत्व कामरेड मोहनविक्रम सिंहले कामरेड पुष्पलाललाई गद्दार भन्नुभयो। किताब नै कोर्नु भयो। सिंगो पार्टीबाट टाउको हल्लाएर समर्थन भयो। अलिक वर्षपछि फेरि उहाँले उतिबेला गद्दार भन्नु गल्ती भएको थियो, भन्नुभयो। त्यसबेला पनि सिंगो पार्टीले हात ठड्यायो। उहाँले कामरेड निर्मल लामालाई सिआईडीको आरोप लगाउनु भयो।
फेरि त्यो पनि साथीहरूले पत्याउनु भयो। कामरेड निर्मल लामाको जीवनको अन्त्य तिर उहाँले भेटेरै हामी बीचको अन्तरविरोध अनावश्यक थियो, भन्नुभयो। त्यो पनि साथीहरूले मान्नुभयो। नारायणकाजीलाई मार्क्सवादी लेनिनवादी देख्नुभयो, पार्टी एकता भयो। पार्टी फुट्यो एकता गर्नु गल्ती भयो भनियो। हामीले सबैले टाउको हल्लाइयो। हालसालैका यस्ता कैयौं अन्य उदाहरण र घटनाहरु पनि छन्। तर्क गरिएला कि यी सबै कुरा महाधिवेशन या राष्ट्रिय भेलारसम्मेलनबाट पारित भएका हुन्।
हो हामी सबैले नेतृत्वप्रति विश्वास गरेर नै टाउको हल्लाउँदै गरेका हौं। तर यति धेरै गल्ती हुँदासम्म पनि यो गलत भयो है भन्ने कोहि किन देखिन सकेन रु वा हिम्मत आएन रु विश्लेषण हुन जरुरी छ। पुष्पलाल र निर्मललामासँग त्यसप्रकारको कमजोरी नभएको भए यो अवस्थासम्म आइपुग्दा कम्युनिस्ट आन्दोलनको रुप कस्तो हुन्थ्यो। यस प्रकारका कमजोरीले पुर्याएको क्षतीबारे हामीले किन विश्लेषण गरेनौं। गल्ती भयो भन्यौं, सकियो। कम्युनिस्ट पार्टीमा नेतृत्वलाई मान्नुपर्छ त्यो स्वभाविक हो तर राजाको रूपमा होइन न त दिब्य शक्ति भएको प्रभुको रूपमा मान्नुपर्छ भन्ने हुँदैन।
होइन भने यस्तो दुबै परिस्थितिमा टाउको किन हल्लाइयो। उदाहरणका लागि भनौं, या त पुष्पलाललाई गद्दार घोषणा गर्ने बेला या गद्दार भन्नु कमजोरी भयो भन्ने बेला कुनैबेला असहमति हुनुपर्ने हो तर भएन। माथि चर्चा गरिएका अन्य घटनामा समेत त्यस्तै भयो। यस्तो अवस्था या त सामन्ती प्रवृत्ति र दास मानसिकताको उपज हुनुपर्छ या त त्यहाँ सहि गलत छुट्याउन नसक्नेको भिड हुनुपर्छ। यसको समेत आजका कार्यकर्ताले अध्ययन र विश्लेषण गर्नु जरुरी छ।
मैले सहि र गलत छुट्याउन नसक्ने भिड हो भन्ने कुरा मान्दिन्न। यस्तो अवस्था सृजना हुनुमा पार्टी भित्रको सामन्ती प्रवृत्ति र नेता कार्यकर्ताको दास मानसिकताको उपज थियो। अब पनि हामी त्यो प्रवृत्ति र मानसिकताभन्दा माथि उठ्न सकेनौं भने के होला रु प्रश्न गम्भीर छ।
पछिल्लो समयमा पार्टी र पार्टी नेतृत्वले अवलम्बन गरेको गलत नीति र व्यबहारमा पार्टी भित्रका सचेत नेता कार्यकर्ताले संघर्ष गरिरहेका छन्। त्यसलाई दबाउन, फुटाउन र लखेट्न अनेकौं प्रयत्न भइ रहेका छन्। जसरी पुष्पलाल र निर्मल लामा सँग भयो। तर निराश हुने, पलायन हुने या भाग्ने होइन, जो जहाँ जस्तो अवस्थामा छ संघर्ष गर्दै अगाडि बढ्नुपर्छ। त्यसबारे छुट्टै चर्चा गरौंला।
पार्टी भित्रको सामन्तवाद चिर्दै बुद्धि उत्पादन गर्ने कुरा चानचुने कुरा होइन। यस्तो चेतनाको विकास हामी सबैमा हुनु जरुरी छ। बुझ्ने जान्ने शक्ति सबैमा हुन्छ। खुल्ने नखुल्ने आफ्ना परिबन्ध हुन सक्छन्। तर यस्तो बेला राजनीतिक दलभित्र सबै कार्यकर्तामा आलोचनात्मक चेत स्वीकार्य हुन्न।
नेतृत्वलाई देवत्व ठान्ने प्रवृत्तिको विकास गराइएको हुन्छ। त्यहाँ कार्यकर्ताको विद्धता उपल्ला तहका नेताका लागि देखेर सहन नसक्ने दुश्मनी हुन्छ। कहिलेकाही राष्ट्रिय सम्मेलन वा महाधिवेशनको समयमा कम्युनिस्ट पार्टीहरुमा निकै ठूलो जनवादको चर्चा हुनेगर्छ। सिद्धान्ततः लेनिनवादी संगठनात्मक पद्धति या जनवादी केन्द्रीयता उच्चस्तरीय पद्धति हो। तर कम्युनिस्ट पार्टीको नेतृत्वमा नै सामन्ती प्रवृत्ति भएपछि ती सबै शास्त्रमा लेखेका जपना मन्त्र मात्र सावित हुन्छन्।
नेताले कहिलेकाही नाटक गर्छन र केन्द्रीय समिति र तल्ला कमिटिहरुमा छलफल गराएजस्तो गर्छन, त्यो केवल मान्छेलाई भुलाउने अल्झाउने खेल मात्र हो। छलफल उत्कृष्ट नीति तर्जुमा गर्न होइन, आफ्नो प्रस्तावको विपक्षी को को हुन् पत्ता लगाउने काइदाको रूपमा छलफल गराइन्छ।
जब कोहि सिद्धान्तबाट च्युत भएर सामन्ती प्रवृत्तिले संगठनमा प्रभाव जमाउन खोज्छ, तब सैद्धान्तिक मतभेद र अन्तरसंघर्षका विषयहरुमा स्वस्थ र स्वच्छ छलफल हुँदैन। आफ्नो प्रस्तावको विपक्षी कार्यकर्तालाई छलफलद्वारा कन्भिन्स गरेर होइन, पद प्रतिष्ठाको प्रलोभन देखाएर, उनिहरुका गल्ती कमजोरी ढाकछोप गरेर वा कारबाही गर्ने धम्की दिएर प्रभावित बनाउने कोशिश गरिन्छ।
सिद्धान्त र विचारका विषयबस्तु डाइभर्ट गरिन्छ्न्, गाली गलौज सुरु गरिन्छ। तल्ला कमिटिमा हुने छलफल, त्यहाँका सुझाव कहिल्यै माथिल्लो कमिटिले लिँदैन। लिन्छ त त्यस्तो बेला मात्र जुन बेला नेताले आफूलाई चाहेको कुरा तलकाले भन्ने गर्छन। भिन्नमत राख्नेलाई विभिन्न बहानामा खुइलाउन सुरु गरिन्छ।
आफ्नो पक्षका कार्यकर्ताका गल्ती कमजोरीप्रति उदार नीति अवलम्बन गरिन्छ। उसो त कतिपय तलका अवसरवादी कार्यकर्ताहरु पनि सामन्ती संस्कारले यति लिप्त भइसकेका हुन्छन कि उनीहरु नेताले के चाहेको छ भन्ने गन्ध सुघ्ने गर्छन र त्यसैमा रेती लगाउन थाल्दछन, फूलबुट्टाहरु भर्न थाल्दछन। उनीहरु पनि केवल नेतालाई खुसी बनाएर पार्टी भित्र आफ्नो माहोल बनाउन मात्र होडवाजी गर्दछन।
चाकरी र चाप्लुसीको घिनलाग्दो खेलमा डुब्ने गर्छन्। नेपालको सबैभन्दा ठुलो समस्या विकृत राजनीति नै हो। विकृत राजनीति मौलाउनुको कारण सहिलाई सहि र गलतलाई गलत भन्न नसक्ने कार्यकर्ता र सहि नेतृत्वलाई चुन्न नसक्ने जनता नै हो। यसले पनि नेतृत्वको सामन्ती चिन्तन र प्रवृत्तिलाई बढाउन मलजल गरिरहेको छ।
विगतमा जमिन्दारहरुले आफ्नो कोही रैती आफ्ना अगाडि नयाँ लुगा लगाएको देख्यो भने, चुच्चे टोपी लगाएको भेट्यो भने, अलि सुकिलो लगाएको देख्यो भने वा कहिलेकाही सिधा नजरले आफ्नो आँखामा हेर्यो भने मात्र पनि ठाउँका ठाउँ त्यसलाई कारवाही गराउँथ्यो। केही पाएन भने पनि बाटोमा लठ्ठी तेर्साएर फाल्ने, बाटोमा हिड्ने सामान्य मान्छेले त्यो लठ्ठी नाघ्यो भनेर कारवाही गराउने सामन्ती प्रचलन थियो।
ठीक त्यही शैलीकै प्रभाव आज नेपालका कम्युनिस्ट भन्ने नेतृत्वहरुका व्यवहारमा समेत देखिन्छ। आजका कम्युनिस्ट नेताहरुमा यस्तो सामन्ती इगो या चिन्तन छ कि उनीहरु कोही कार्यकर्ताले सिधा नजरले हेर्यो, तर्क गर्न खोज्यो या भिन्नमत राख्यो भने त्यो कार्यकर्तालाई ठाउँका ठाउँ कारवाही गराउन तम्सिने गरिरहेका छन्। जब लेनिनवादी संगठनात्मक प्रणाली सबल बन्दैन तब कम्युनिस्ट संगठनात्मक सिद्धान्त केवल खोक्रो र नेतृत्वको पजनीमा सिमित हुन्छ।
नेताले संगठनहरुलाई धोती लगाइरहन्छ। आन्दोलन वा सिंगो पार्टीको हितमा होइन कि आफ्नो अनुकूलतामा कमिटिहरु निर्माण गर्ने, तिनलाई सक्रिय पार्ने र परिचालन गर्ने गरिरहन्छ। वास्तवमा नेपालका कम्युनिस्ट नेताहरुका यस्तै इगो टक्करले नै कम्युनिस्ट पार्टीहरु टुक्रा टुक्रा बनेका छन। यस्तो सामन्ती प्रवृत्ति बोकेका सबै ग्रुपले यो वा त्यो ढंगले दक्षिणपन्थी संसोधनवादी बाटो तताउने गर्छन्। यसका विरुद्ध योजनाबद्ध रूपमा संघर्ष नगर्ने हो भने क्रान्तिकारी कम्युनिस्ट आन्दोलन पतन या विसर्जनको दिशातिर जानसक्छ।
कम्युनिस्ट आन्दोलनमा नीति र नेतृत्वको आफ्नै प्रकारको महत्व हुन्छ। संगठन परिचालनमा निश्चित संगठनात्मक सिद्धान्त हुन्छ। त्यसको पालना गर्नु सबैको अनुशासन हुनजान्छ। नेतृत्व या अन्य नेता कार्यकर्तासँग एकापसमा आफ्नो व्यक्तिगत सम्बन्ध पनि हुन्छ र हुनुपर्छ। पार्टी र नेतृत्वको आजसम्मको त्याग, बलिदान र राम्रा पक्षको उपहास गर्नु हुँदैन।
तर यसको अर्थ यो होइन कि पार्टी वा पार्टी नेतृत्वले आफ्नो गुटको हित या व्यक्तिगत हितलाई केन्द्रमा राखेर बहुमतको आडमा पार्टी र क्रान्तिमा दीर्घकालीन अहित हुने कुनै पनि निर्णय गर्छ भने त्यो समेत स्वीकार गर्नुपर्छ भन्ने होइन। त्यसलाई उलंघन गर्नु पनि लौह अनुशासन मानिन्छ। सधैं यस्तो अवस्था हुन्न तर कहिलेकाही अन्तरसंघर्षको दौरानमा त्यस्तो हुन्छ। त्यतिबेला पार्टीको दीर्घकालीन हितको लागि पद र सदस्यतासम्म पनि गौण हुन सक्छन्। तर उसले पार्टी छोडेको हुन्न।
तर आज कसैलाई पार्टीको चिन्ता छैन। क्रान्तिको र आन्दोलनको चिन्ता छैन। व्यक्तिगत लाभ हानी, मान सम्मान, पद प्रतिष्ठाको चिन्ता ठुलो हुन्छ। त्यसले कम्युनिस्ट आन्दोलन भित्र रहेको सामन्तवाद विरुद्ध संघर्ष गर्न बाधा पुर्याएको छ। आजसम्म उपल्लो तहको नेता मात्रै ज्ञानको ठेकेदार हुने र उसले आफूभन्दा तल्लो तहका नेता कार्यकर्ताहरुलाई एउटा कोठाभित्र राखेर घण्टौ प्रवचन दिने चलन छ। ज्ञान र सीप तलका कार्यकर्तामा पनि हुनसक्छ भन्ने हेक्का कहिल्यै हुँदैन। नेताकै प्रवचन वा प्रशिक्षणबाट दिक्षित भएर त्यसकै आधारमा कार्यक्षेत्रमा जनतालाई प्रशिक्षित गर्ने अभ्यास आजसम्म नेपालमा भएको अभ्यास हो।
अझै पनि त्यो अभ्यास जारी छ। यतिसम्म कि माथिल्लो नेताले विश्व परिघटनाहरुको पनि चर्चा गरिदिनु पर्ने र राष्ट्रिय परिस्थिति के छ भन्ने पनि भनिदिए पछि मात्र तलकाले ए यस्तो पो रहेछ भन्ने थाहा पाउनु पर्ने संयन्त्रको विकास भएको छ। कसलाई के भन्ने शब्द, विशेषण र विश्लेषण पनि नेतृत्वले नै सिकाइदिनुपर्ने।
मानौं, नेतृत्व ज्ञान र सूचनाको महान भण्डार, कार्यकर्ता सबै खाली बोत्तल। नेता एक किसिमको प्रभु सरह भने कार्यकर्ता प्रभुका अन्धभक्त। यसले एकातिर सिक्ने, जान्ने, पढ्ने, विश्लेषण गर्ने काम नेताको हो र कार्यकर्ताले त नेताले जे जे भन्छन, त्यही सुन्ने र सो वमोजिम खुरुखुरु दायाँ बायाँ नगरी लागु गर्ने हो भन्ने प्रचलन हावी गरायो।
अनुशासन लागु गर्ने पनि त्यहीँ तरिका छ। सेल, पालिका र जिल्ला स्तरका कार्यकर्ताको कारबाही घटुवा बढुवा सबै कि त कार्यालय कि त पि बिको निर्णयले भकाभक गर्ने। केन्द्रिय समिती पंगु बनाउने। एउटा नेतृत्वको विवेक र ब्रह्मले जे देख्यो निर्णय ठोक्यो। नेतृत्वले तलको रिपोर्टिङ लिने मान्छे कस्ता हुन्छन् त्यसको कुरै नगरौं। त्यसकारण यस्तो सामन्ती प्रवृत्तिले एकातिर कार्यकर्ताहरुको सिर्जनात्मकतालाई हत्या गरिदियो भने अर्कोतिर परनिर्भर चेतना हावी गरायो।
त्यसमाथि अझ पार्टी अनुशासनको डण्डा चलाइदा त्यहाँ नेताले भनेको कुरा भगवानले भनेसरह हुने भयो। वास्तवमा राजनीतिक चेतना उच्च भएका मान्छे आफ्नो मत दिन्छ, अर्काले भनेको कुरा सही वा गलत छुट्याउँछ। आफैले पनि ती तथ्यहरु खोतल्ने र पत्तो लगाउँछ। सचेत कार्डर त्यस्तो खाली बोत्तल होइन, जसमा जसले जे चाह्यो त्यही भरोस्। सबैभन्दा ठूलो कुरा चेतनशील मानिसले प्रभुको भक्तिगान गर्दैन। प्रभुको भक्तिगान तिनले गर्छन, जो आफूलाई कमजोर ठान्दछन।
मानिस र मानिसका बीचमा ठूलो भेद देख्छन। यो उनीहरुको दब्बु मानसिकताको उपज हो। ठीक अर्कोतिर ती कथित प्रभुहरु जहिले पनि आफ्नो वाहवाही चाहन्छन। चाकडी खोज्छन। चाप्लुसी खोज्छन। प्रशंसा चाहन्छन। जब उनीहरु कतै प्रशिक्षण दिने वा भाषण गर्छन, त्यो सकिएपछि वरिपरि जम्मा भएका कार्यकर्तालाई कतिखेर सोधौं सोधौं भन्ने हुटहुटी तिनका मनमा उब्जिएको हुन्छ। अनि
सोध्छन्, कस्तो भयो हँ मेरो भाषण रु वास्तवमा त्यो त उनका मुखबाट ओकलिएको उनी भित्रको सत्य हो। त्यो बेला कसैले आज तपाइले भाषणमा बिगार्नु भयो भन्यो भने त्यहाँ बसि सक्नु नहुनसक्छ। खासमा उसले वडो राम्रो गर्नुभयो भन्ने प्रशंसा चाहेको हुन्छ।
नेपालमा औचारिक रुपमा सामन्ती व्यवस्थाको अन्त्यको घोषणा त गरियो तर यहाँ सामन्ती संस्कार, शैली, सोच चिन्तन कम्युनिस्ट पार्टी भित्र भने कायमै छ। त्यसका विरुद्ध निर्मम संघर्ष गर्नु आजका नेता कार्यकर्ता, महिला, विद्यार्थी, जनजाती र सम्पुर्ण युवाहरुको जिम्मेवारी हो।
हामीले कम्युनिस्ट पार्टी भित्र जब्बर रुपमा भिजेको सामन्तवादलाई परास्त नगरी नेपालको कम्युनिस्ट आन्दोलनले नयाँ कोर्स या अध्यायको पाना पल्टाउन सक्दैन। यदि नेपाल कम्युनिस्ट आन्दोलनको यात्रालाई सही बाटोमा डोर्याउने नै हो भने हाम्रा पार्टी जीवनको संस्कारमा भिजेको सामन्तवादलाई परास्त गर्नु जरुरी छ।
प्रतिक्रिया
सम्बन्धित समाचार