सिजादर्पण,काठमाडौं । भारतमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित एकैदिन भेटिएका छन् । पछिल्लो २४ घन्टामा भारतमा ६२ हजार एक सय ७० जनामा संक्रमण पुष्टि भएको छ। यो संक्रमणदर उच्च रहेका देश अमेरिका र ब्राजिलको भन्दा पनि बढी संख्या भएको बताइएको छ ।वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७१ हजार ९ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये अमेरिकामा ५८ हजार ३ सय ३८ र ब्राजिलमा ५४ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको छ।कोलम्बियामा बिहीबार एकै दिन झण्डै १० हजारमा संक्रमण पुष्टि भएको छ।
भारतमा संक्रमितको संख्या २० लाख नाघेको छ। शुक्रबार बिहान सात बजेसम्मको तथ्यांक अनुसार त्यहाँ २० लाख २५ हजार चार सय नौ जनामा संक्रमण पुष्टि भएको छ।संक्रमणको कारण अहिलेसम्म भारतमा ४१ हजार ६ सय ३८ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा मात्रै भारतमा संक्रमणको कारण नौ सयले ज्यान गुमाएका छन्।पछिल्लो २४ घण्टामा ब्राजिलमा १२ सय २६, अमेरिकामा ११ सय ८२, मेक्सिकोमा ८ सय २९, दक्षिण कोरियामा तीन सय ६, कोलम्बियामा तीन सय १५ जनाले ज्यान गुमाएका छन्।अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ९२ लाख ३७ हजार सात सय ४८ पुगेको छ भने मृतकको संख्या सात लाख १७ हजार पाँच सय २७ पुगेको छ।
