एजेन्सी । अहिले बार्सिलोनाका खेलाडीहरुले क्लब छाड्ने चर्चा चलिरहेको छ । कप्तान लियोनल मेसीको नाम इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग जोडिएको छ भने टोलीका अर्का चर्चित स्ट्राइकर लुईस सुआरेज युुभेन्टस् जान सक्ने चर्चा छ ।
मेसीले क्लब छाड्न चाहेको विषय बार्सिलोनाको बोर्डलाई औपचारिक रुपमा गराइसकेका छन् । र, यस विषयमा क्लबलाई जानकारी दिनुुअघि उनले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डीओलासँग टेलिफोन संवाद पनि गरेका थिए । यता, बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बोर्टामोउले मेसीलाई क्लब छाड्ने निर्णय नलिन आग्रह गरेका छन् । मेसीले क्लब नछाड्ने सार्वजनिक घोषणा गरेमा आफु राजीनामा गर्न समेत तयार रहेको उनले बताएका छन् ।
नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको आगमनसँगै सिनियर खेलाडीहरु आफ्नो भूमिकालाई लिएर शशंकित बनेका छन् । कोम्यानले टोलीका मुख्य स्ट्राइकर लुुईस सुुआरेज आफ्नो योजनामा नरहेको स्पष्ट पारिसकेका छन् । जसकारण, सुआरेजलाई आबद्ध गर्न युुभेन्टस्ले आँखा लगाइरहेको छ ।दुई वर्षअघि क्रिस्ट्रियानो रोनाल्डोलाई भित्र्याएको युभेन्टस् अहिले आफ्नो अग्रपंक्तिलाई बलियो बनाउन चाहन्छ । २०१४ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना आएका सुआरेजको इच्छा भने प्रिमियर लिगमै फर्कने छ । यस्तोमा, उनी लिभरपुल फर्कने सम्भावना पनि यथावत् रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
