सिजादर्पण, काठमाडौँ ।भारत सरकारले चिनियाँ सैनिकले पूर्वी लद्दाखमा सीमा पारी बनेको सहमतिको उल्लंघन गरेको सोमबार आरोप लगाएको छ ।भारतीय सरकारले चिनियाँ सैनिकले उक्साउने किसिमको कदम चाल्दै सीमा पारी यथास्थिती परिवर्तन गर्ने कोसिस गरेको तर भारतीय सैनिकले उनीहरुलाई रोकेको बताएको छ ।भारतीय सेनाको बयानलाई पिआइबीको तर्फबाट जारी गरिएको हो ।
बयानमा भनिएको छ, ‘भारतीय सैनिकले पन्गोङ्ग त्यो लेकमा चिनियाँ सैनिकको कदम रोकेको छ । भारतीय सेना संवादमार्फत् शान्ति बहाल गर्ने पक्षधर हो तर यसका साथै आफ्नो इलाकाको अखण्डताको सुरक्षाका लागि पनि प्रतिबद्ध छ । पूरा विवादमाथि ब्रिगेड कमान्डर स्तरमा बैठक जारी छ ।’भारतीय सेनाका अनुसार यो झडप २९–३० अगस्टको राती भएको हो । भारतीय सेनाले चिनियाँ पिपल्स लिबरेशन आर्मी अर्थात् पिएलएले सीमामा यथास्थिती परिवर्तन गर्ने कोसिस गरेको तर सतर्क भारतीय सैनिकले यस्तो हुन नदिएको बताएको छ ।
यसबारे चीनको तर्फबाट कुनै बयान सार्वजनिक भएको छैन । भारत र चीनबीच ३५ सय किलोमिटर लामो सीमा छ र दुई देश सीमाको वर्तमान स्थितीमा सहमत छैनन् । यसका लागि दुई देशबीच सन् १९६२ मा पनि युद्ध भइसकेको छ ।यसअघि लद्दाखकै गलवान घाटीमा १५ जूनमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएको थियो र यसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसपछि दुई देशबीच कुराकानी जारी छ तर तनाव अझै पनि कायम नै छ ।
