सिजादर्पण , काठमाडौं। कोरोनाभाइरस संक्रमणले विश्वलाई अस्तव्यस्त बनाएको छ । माओवादी सशस्त्र संघर्ष र अस्थिर राजनीतिक संक्रमणकालमा नेपालबाट लाखौं युवा वैदेशिक रोजगारीमा विश्वको कुना कुनामा पुगेका छन् ।गणतन्त्र आएको एक दशक नाघिसक्दा पनि उनै श्रमिकले पठाएको पैसाले मुलुकको अर्थतन्त्रलाई जोगाउन सक्यो । तर, अहिले कोरोनाको कहरले भोगभोगै विदेशी भूमि बस्नुपर्दा आफ्नो सरकारको उपस्थिति महसुस नहुने गरी उद्धारमा नलागेपछि प्रदर्शनमा उत्रिएका छन् ।
महिनौं दिनदेखि स्वदेश फर्किने आशा र तयारीमा साउदीको अरेबियामा रहेका नेपाली श्रमिकहरुको मंगलबार (हिजो) नेपाल आउने मिति तय गरिएको थियो ।तर, उक्त मितिमा नेपाल फर्किन नपाउनुे भएपछि आइतबार अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा उनीहरुले नेपाल सरकार र साउदीमा रहेको नेपाली दूतावासविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका थिए । सोही क्रममा प्रदर्शनकारी नेपाली श्रमिकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै नारा लगाए ।
केपी ।।, देश छोड’, ‘नेपाली दूतावास, मूर्दावाद’जस्ता आक्रोशित नारा लगाएर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । उक्त सेमास्को कम्पनीमा करिब १० हजार नेपाली श्रमिक कार्यरत थिए । तर, कोरोनाको कहरसँगै करिब ८ सय कामविहीन भएका छन् ।रोजगारी गुमाएपछि स्वदेश फर्कने पर्खाइमा रहेका उनीहरुले नेपाल सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । उनीहरुको आक्रोशित नाराबाजी र प्रदर्शनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
नाराबाजी भएको साउदीको सेमास्को कम्पनीमा करिब १० हजार नेपाली काम गर्छन् भने त्यसमध्ये करिब ८ सय कामविहीन भएका छन् । कामविहीन र अलपत्र परेका श्रमिकलाई स्वदेश फर्काउन शुक्रबार कम्पनीले ८ सेप्टेम्बरको उडानका लागि हवाइ टिकटबापतको पैसा बैंकिङ च्यानलमार्फत नेपाल एयरलाइन्सको खातामा पठाउन खोजे पनि बैंकिङ च्यानलबाट पैसा जम्मा हुन सकेन ।
नेपाली दूतावासका कारण नेपाली श्रमिक फर्काउन समस्या भएको भन्दै सूचना टाँसेर कम्पनीले श्रमिकलाई विकल्प खोज्न भनियो । यसपछि आक्रोशित नेपाली श्रमिकले प्रधानमन्त्री ओली र दूतावासविरुद्ध नाराबाजी गरेका हुन् । यता साउदीस्थित नेपाली दूतावासले सेप्टेम्बर ८ तारिखमा स्वदेशश फर्किन नपाएकाहरुलाई १८ तारेखको उडानमा नेपाल पठाउने जनाएको छ । यसरी नेपाली श्रमिक अलपत्र परेको यो प्रतिनिधि घटनामात्रै हो । लेवनान, कतार, यूएई, कुवेतलगायत अन्य मुलुकमा पनि नेपाली श्रमिक स्वदेश फर्किन नपाएर अलपत्र परेका छन् ।
