सिजादर्पण काठमाण्डौ ।लियोनेल मेस्सीले बार्सिलोना छोडेर म्यानचेस्टर सिटी जाने सम्भावना रहेको बार्सा क्लबको अध्यक्षका उम्मेदवार टोनी फ्रेक्साले बताएका छन् । अघिल्लो साता मेस्सीले बार्सिलोनालाई ट्रान्सफर अनुरोध पठाएर फूटबल जगतलाई स्तब्ध बनाएका थिए । क्लब अध्यक्ष जोसेप मारिया बार्तोमेउले मेस्सीलाई राखिराख्न राजीनामा दिने समेत भनेका थिए तर फ्रेक्साका अनुसार मेस्सी क्लबमा बसिरहने सम्भावना छैन ।पेप ग्वार्डिओलाको व्यवस्थापनमा रहेको सिटीले ६ पटकका बालून दोर विजेता मेस्सीलाई भित्र्याउन कोशिश गरेको छ ।

उनको सम्झौतामा भएको एक प्रावधानले उनलाई निःशुल्क ट्रान्सफरका लागि अनुमति दिने विश्वाससिटीले लिएको छ यद्यपि ला लिगाले मेस्सी अझै पनि बार्सिलोनाको सम्झौतामा बाँधिएको अडान लिएको छ । सिटीसँगै पेरिस सेन्ट–जर्मान र इन्टर मिलानले पनि मेससीलाई भित्र्याउने प्रयास गरिरहेका छन् । क्लबबाट निस्कने मन बनाएका मेस्सीले आइतवार कोभिडको पीसीआर परीक्षण पनि गरेनन् अनि सोमवार अभ्यासमा पनि भाग लिएनन् । ‘मेस्सीले निकै सोचेर नै क्लब छोड्ने निर्णय लिएका हुन् भनी मैले धेरैजनाबाट सुनेको छु ।
उनी पछि फर्किने कुनै योजना छैन,’ फ्रेक्साले गोलडट्कमलाई बताए । बार्सिलोना युरोपको अग्रणी टीमबाट सामान्य टीमको स्तरमा झरेकोले मेस्सीलाई विरक्त लागेको उनको भनाइ छ । त्यसमाथि नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले मेस्सीका अनन्य मित्र लुइस सुआरेजलाई अर्कै क्लब खोज्नू भनेकाले पनि मेस्सी निराश भएको बताइएको छ । मेस्सी बार्साका पूर्वप्रशिक्षक ग्वार्डिओलासँग पुनर्मिलन गर्न शायद सफल हुनेछन् । उनी म्यान सिटी जान सक्छन्,’ फ्रेक्साले भने । ‘पेपसँग मिलेर मेस्सीले बार्सिलोनामा निकै राम्रो प्रदर्शन गरे । उनीहरू फेरि मिलेर काम गर्ने सम्भावनामा दम छ । सिटीसँग जुन पनि ट्रफी जित्न सक्ने टीम बनाउनका लागि आर्थिक शक्ति पनि छ ।’मेस्सीले छोड्दा बार्सिलोना क्लबले नयाँ युगमा प्रवेश गर्ने अवसर पाएको फ्रेक्सा बताउँछन् ।
