सिजादर्पण काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक कक्षालाई शैक्षिक सत्रमा गणना गर्ने जनाएको छ । विद्यालय, प्राविधिक र उच्च शिक्षामा वैकल्पिक पद्धतिबाट भइरहेको पठनपाठनलाई औपचारिक मान्यता दिने मन्त्रालयले जनाएको हो । यसअघि असार १ गते सरकारले वैकल्पिक सिकाइ अभियान सुरु गरेको थियो ।शुक्रबार भर्चुअल सम्बोधन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक विधिबाट सञ्चालित कक्षा नै मुलधारको शिक्षा भएको बताए । मन्त्री पोखरेलले कार्ययोजनासहित वैकल्पिक कक्षालाई मूलधारको शिक्षा बनाउन लागिएको जानकारी दिए । अनलाइन, रेडियो, टेलिभिजन र प्रिन्ट सामग्रीबाटै विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरिने उनको भनाइ थियो ।‘वैकल्पिक पद्धतिबाट पठनपाठनको सुरुवात गरिसकिएको छ,’ उनले भने, ‘सुदृढ पारेर सबै विद्यार्थीहरुलाई यो पद्धतिमा सहभागी गराउन थप प्रयत्न गछौं ।’ शैक्षिकसत्र खेर जान नदिन मन्त्रिपरिषदमा समेत छलफल भएको उनले जनाए ।
‘प्रधानमन्त्रीले कार्ययोजना माग्नु भएको छ, तीनै तहको सरकारको भूमिकासहित कार्ययोजना बनाएर कार्यान्वयनमा जान्छौं,’ उनले भने । वैकिल्पक शिक्षामा छुटेका, दुर्गम र अपाङ्गता भएका विद्यार्थीलाई लक्षित गरेर कार्ययोजना बनाइने उनले जनाए ।वैकिल्पक कक्षालाई प्रभावकारी बनाउन शिक्षण संस्थाले आफ्ना विद्यार्थीको खोजी गर्नुपर्ने उनको भनाइ थियो । ‘विद्यार्थी शिक्षणसंस्थामा जान सक्ने अवस्था छैन, यस्तो बेला शिक्षक विद्यार्थीसम्म पुग्नुपर्छ,’ पोखरेलले थपे, ‘होम स्कुलिङ र रेडियो पाठशाला नै बढी प्रभावकारी देखिन्छ ।’ शिक्षा मन्त्रालयले अपिल जारी गरेर शिक्षक र अभिभावकलाई विद्यार्थीको सिकाइको नियमित अनुगमन र निरीक्षण गर्न समेत आग्रह गरेको छ । शिक्षामन्त्री पोखरेलले भने, ‘कोरोना संक्रमणको बेला पुरानो सोच, शैली र पद्धतिले पठनपाठन सम्भव छैन, शिक्षण संस्था खोल्दा झन जोखिम बढ्न सक्छ, घरलाई नै शिक्षालय बनाउनुपर्छ ।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आज पत्रकार सम्मेलनमा गरेको सम्बोधन स्
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको प्रभाव हाम्रो देशमा दिनदिनै वढीरहेकोे संकटपूर्ण अवस्थामा सामान्य जीवनका नियमित प्रक्रियाहरु अवरुद्ध भएका छन् । सबै क्षेत्रलाई प्रभावित पारेको यस महामारीले शिक्षा क्षेत्रलाई झनै प्रभावित बनाएको छ तसर्थ बालबालिकाको शिक्षा पाउने अधिकारको संरक्षण गर्नु आजको प्रमुखचुनौति बनेको छ । करिब नब्बे लाख विद्यार्थीहरु नियमित पठन पाठनबाट बञ्चित भएका छन् । पठन पाठन सुचारु हुन नसक्दा उनीहरुमा अन्योलता छाएको छ भने आफ्ना बालबच्चाको शिक्षाप्रति अभिभावकहरुको चिन्ता बढ्दै गएको छ ।शिक्षा क्षेत्रमा कोभिड १९ को महामारीले सिर्जना गरेको यो अभूतपूर्व संकटको सामना गर्न पुरानै सोच, शैली र पद्धतिबाट सम्भव छैन भन्ने हामीले बुझेका छौं । विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षामा वैकल्पिक पद्धतिबाट पठन पाठनको शुरुआत गरिसकिएको छ । शुरु गरिएको वैकल्पिक पद्धतिलाई सुदृढ पारेर सबै विद्यार्थीहरुलाई यो पद्धतिमा सहभागी गराउन थप प्रयत्नको आवश्यकता छ ।
वैकल्पिक शिक्षा पद्धति सम्बन्धमा केहि भ्रम रहेको पनि देखिएको छ । यदाकदा अनलाईन वा भर्चुअल कक्षालाई नै वैकल्पिक शिक्षा पद्धतिको रुपमा बुझ्ने गरेको पनि देखिन्छ । हाम्रो जस्तो इन्टरनेटको सुविधा सीमित भएको मुलुकमा यो एउटा उपायमात्र हो जुन सीमित विद्यार्थीको लागि मात्र पहुँचमा हुन्छ । तसर्थ, अहिले हामीले अवलम्बन गरेको घर नै शिक्षालय वा घरमै सिकाइ रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअलकक्षा गरी चार वटै तरिकाहरुको समष्टि नै वैकल्पिक शिक्षा हो भन्ने बुझ्न जरुरी छ ।अझ भन्ने हो भने होम स्कुलिङ र रेडियो पाठशाला जस्ता तरिकाहरु नै ग्रामिण तथा विकट क्षेत्रहरुमा उपयोगी हुन आउँछ । यिनीहरुले मुलुकभरका विद्यार्थीको ठूलो हिस्सालाई समेट्छ । चारवटै तरिकामा आधारित कार्यव्रmमहरुको समानान्तर रुपमा सञ्चालन गरेर सबैका लागि वैकल्पिक शिक्षा प्रदान गरी सिकाइको निरन्तरता गर्नु आजको मुख्य कार्यभार हो ।यसका लागि “सबैका लागि बैकल्पिक शिक्षा” भन्ने नाराका साथ सिकाइ निरन्तरताको अभियान नै चलाउनु पर्ने छ । शिक्षा, विज्ञान तथाप्रविधि मन्त्रीको हैसियतले यस अभियानमा सरिक भई योगदान दिन सबैमा अनुरोध गर्दछु ।
विद्यार्थी विद्यालय जाने अवस्था नरहेको वर्तमान परिवेशमा शिक्षक विद्यार्थी सम्म पुग्नुको विकल्प छैन । घर नै शिक्षालय भन्ने मान्यतालाई सबैले आत्मसात गर्नुपर्छ । विद्यार्थी भाइबहिनीहरुले घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्रीअध्ययन गर्ने, अनलाइन कक्षा लिने मध्ये कुनकुन विकल्प अपनाउन सकिन्छ, सोही विकल्प अपनाएर अध्ययनलाई अघि बढाउनु पर्दछ । यसलाई शिक्षक साथीहरुले टेलिफोनबाट नियमित अनुगमन र सिकाइ सहजीकरण गर्नुहुनेछ । टेलिफोन पनि सम्भव नभएका ठाउँमा भौतिक दुरी कायम गरी विद्यार्थीसँग भेटघाट गरेर गृहकार्य एवम् परियोजना कार्य दिने, अध्ययनका लागि परामर्श गर्ने जस्ता कामहरु गर्नु शिक्षकको कर्तव्य भएको छ । यो संकटको घडीमा सबै शिक्षकहरुले यस अभियानको केन्द्र भागमा रहेर रचनात्मक तथा सिर्जनात्मक ढंगले विद्यार्थीको सिकाइका लागि अमूल्य योगदान गर्नुपर्छ । कुशल राष्ट्रसेवकको हैसियतले आफ्नो जिम्मेवारी थपकुशलतापूर्वक निर्वाह गर्न र चुनौतिलाई अवसरमा बदल्दै अघि बढ्न सम्पूर्ण शिक्षक साथीहरुलाई आग्रह गर्दछु ।
होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अन्लाइन् कक्षा आदि वैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई पनि मान्यता दिन त्यसको क्रेडिट गणना गर्ने निर्णय मन्त्रालयले गरिसकेकोले यो पद्धतिलाई अब कोभिड १९ को संक्रमणका अवधिभर मूल प्रणालीको रुपमा विकास गर्न हामी सबै लागेका छौं । महामारीको अन्त्यपछि पनि वैकल्पिक पद्धतिलाई विद्यालय तथा विश्वविद्यालय शिक्षाको पूरक पद्धतिको रुपमा विकास गर्दै लैजानुपर्छ । विद्यालय तथा शिक्षालय अवरुद्ध भएपनि विद्यार्थीको सिकाइ अवरुद्ध कहिल्यै हुँदैन भन्ने सैद्धान्तिक मान्यतालाई अंगीकार गर्दै अघि बढ्दै जाने तथा नियमित र वैकल्पिक पद्धतिलाई एक अर्काका परिपूरक बनाउँदै सिकाइ सुनिश्चित गर्नु नै अहिलेको सही निकास हो ।
महामारीका कारण घरमै बस्न बाध्य आफ्ना बालबालिकाहरुलाई नियमित पठन पाठनमा सरिक गराउन अभिभावकले भूमिका खेल्नुपर्छ । विहान सबेरै उठ्ने, नित्यकर्म एवम् सरसफाइ गर्ने, योग तथाव्यायाम गर्ने, पौष्टिक खानेकुरा खाने, मनोरञ्जन गर्ने जस्ता गतिविधिहरुमा संलग्न गराई स्वस्थ रहन सहयोग गर्नु अभिभावकको जिम्मेवारी हो । आफ्ना बालबालिकाहरुले पुस्तक तथा अन्य उपलब्ध पाठ्यसामग्री पढ्ने, रेडियो पाठशाला कार्यक्रम सुन्ने, टेलिभिजन शिक्षण हेर्ने, गृहकार्य गर्ने, परियोजनाकार्य गर्ने, भर्चुअल कक्षा लिने जस्ता क्रियाकलापमा कति सक्रिय छन् र के कति सिकेका छन् भन्ने कुरामा अभिभावकहरुले विशेष चासो दिनुपर्छ । अनलाइन कक्षा लिएको नाममा सामाजिक सञ्जालको अधिकप्रयोग गर्ने, अमर्यादित साइटहरु हेर्ने, साइबर अपराध जन्य गतिविधिमा अग्रसर हुने, अनलाइन गेममा अधिक क्रेजी हुने जस्ता गतिविधिहरुबाट जोगाउनउत्तीकै आवश्यक छ । आफ्ना बालबालिकाहरुलाई सिकाइका लागि उपयुक्त वातावरण निर्माण गर्न, आवश्यक साधन स्रोत जुटाइदिन, सिकाइको अनुमगमन गर्न, गलत क्रियाकलापमा लाग्नबाट रोक्न र मनोवैज्ञानिक विचलन आउन नदिन सम्पूर्ण अभिभावकज्यूहरुमा हार्दिक अनुरोध गर्दछु ।
हाल सञ्चालित वैकल्पिक सिकाइका विभिन्न माध्यमभित्र समेटिन नसकेका विपन्न, अपाङ्गता भएका, दूर्गम क्षेत्रमा बसोवास गर्ने बालबालिकाको सिकाइ सुनिश्चित गर्न तीनै तहका सरकारले समन्वयात्मक रुपमाकार्य गर्ने गरी एक कार्ययोजनाको मातहत कार्यक्रम सञ्चालन गरिनेछ ।विद्यालयको शैक्षिक सत्र, २०७७ को करिब साढे चार महिना बितिसकेको अवस्थामा अहिलेको पाठ्यक्रमलाई यथावत रुपमा अघि बढाउन कठिन हुने ठहर गर्दै विद्यालय शिक्षाको पाठ्यक्रमको संस्लेषण ९कस्टमाइजेसन० गर्ने निर्णय भइसकेको छ । हाललाई अत्यावश्यकविषयवस्तु समेट्ने गरी पाठ्यक्रमको संस्लेषित कार्यढाँचा जारी गरिने छ । यसकालागिविषयगत टोलीहरुले कार्य प्रारम्भ गरिसकेका छन् । यहीभाद्र महिना भित्र हामी संस्लेशित पाठ्यक्रम ९कस्टामाइज्ड पाठ्यक्रम० विद्यालयहरुलाई उपलब्ध गराउने छौं ।
मैलेविश्वविद्यालयकाउपकुलपतिहरुलाई कम्तिमापनि ६ महिनाको कोभिड केन्द्रीत क्यालेण्डर सार्वजनिक गर्न निर्देशन दिईसकेको यहाँहरुलाई जानकारी नै छ । धेरै विश्व विद्यालयहरुले सोहीअनुसारको कार्यतालिका मन्त्रालयमा पठाईसकेका पनि छन् । त्यसलाई विद्यार्थीका लागि सार्वजनिक गरिदिन सम्पूर्ण विश्व विद्यालयलाई पुन अनुरोध गर्दछु । साथै उच्च शिक्षाको हकमापनि पाठ्यक्रम कस्टेमाइजेसन गर्न विश्व विद्यालय अनुदान आयोग र विश्व विद्यालयहरुले छलफल गरी उचित निर्णय लिन पनि आग्रह गर्दछु ।
सबैका लागि बैकल्पिकशिक्षा भन्ने अभियानलाई सफलपार्नका लागि विद्यार्थीले नियमित पठनपाठनमा लाग्नुपर्छ । शिक्षकले विद्यार्थीहरु को रु कहाँ, कुनअवस्थामा छन् भन्ने कुराको ट्रेसिङ गरी वैकल्पिक पद्धतिमा सामेल गराउनुपर्छ । त्यसै गरी सिकाइको ट्र्याकिङ ९त्चबअपष्लन या ीभबचलष्लन० गर्नुपर्छ । स्थानीयतहले विद्यालय तथा शिक्षक परिचालन गरी सिकाइ केन्द्रहरुको समेत व्यवस्था गरी बैकल्पिक सिकाइका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । सोको अनुगमन तथा निरीक्षण गरी प्रभावकारिता मूल्यांकन गर्दै सुधारका उपायहरु अवलम्बन गर्नुपर्छ । निजी विद्यालयले सञ्चालन गरेको वैकल्पिक सिकाइका कार्यक्रम तथा त्यस्ता विद्यालयका शिक्षक तलबलगायतका समस्या हल हुने गरी शुल्कको सीमा निर्धारण गरी निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सिकाइलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन सबै स्थानीयतहहरुलाई आग्रह गर्दछु ।
शिक्षकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सबै शिक्षकहरुको कोरोना बिमा गर्ने प्रक्रिया अघि बढिसकेको छ । कार्यरत विद्यालय रहेको जिल्ला भन्दा बाहिरी जिल्लामा रहेका शिक्षकहरुलाई विद्यालय सम्म पुग्नका लागि जिल्ला प्रशासन कार्यालयहरुले सहजीकरण गर्नेछन् भने विद्यालय रहेको स्थानीयतहले त्यस्ता शिक्षकलाई १४ दिनसम्म होम क्वारेन्टिनमा राखी पिसिआर परीक्षणको व्यवस्था पनि गर्नुपर्छ ।अन्त्यमा, यस विषम परिस्थितिमा विद्यार्थीहरुको पढ्न पाउने अधिकारको रक्षा गर्न र शैक्षिक सत्र खेर जान नदिन हामी सबै मिलेर काम गर्नु परेको छ । शिक्षाकर्मी, शिक्षाप्रेमी र सबै सरोकारवालाहरुको साथ सहयोग र सहभागिताबाट नै हामी सफलतामा पुग्न सक्छौं । तसर्थ, सबैले आआफ्नो ठाउँबाट योगदान गरौं । अहिलेको विषम परिस्थितिमा अवरुद्ध शिक्षा क्षेत्रलाई आइसब्रेक गरी वैकल्पिक पद्धतिलाई सिकाइको मूल पद्धतिको रुपमा स्थापित गरौं । विद्यालय र विश्वविद्यालय नखुले पनि शिक्षा सुचारु हुन्छ, सिकाइ निरन्तर चलिरहन्छ भन्ने मान्यतालाई साकार पारौं । सबै सचेत रहौं, सुरक्षित रहौं, सक्रिय बनौं । सबै खालका चुनौतिहरुलाई अवसरमा बदलौं ।
