सिँजादर्पण, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको आयु बढीमा एक वर्ष मात्रै रहेको बताएका छन् । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसद्को चुनाव हुने र चुनावपछि एमालेले वर्तमान सरकारलाई विस्थापित गर्ने दाबी गरे ।
सत्तारूढ पाँचदलीय गठबन्धनलाई स्वार्थी भन्दै उनले उनीहरूलाई आगामी निर्वाचनमा पानीमुनि गए पनि एमालेले नछाड्ने बताए । अब एक वर्षभित्र चुनाव हुनैपर्छ । पानीमुनि गए पनि यो स्वार्थी गठबन्धन बच्न सक्दैन । त्यसकारण अब त बढीमा एक वर्ष हो आयु । संसारभरिका जोतिषीलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ– यो सरकारको आयु बढीमा एक वर्ष हो ।
अध्यक्ष ओलीले निर्वाचनमा प्रशासनको दुरूपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढ्न आफ्नो पार्टी सक्षम रहेको पनि बताए । उनले निर्वाचनमा जनताको मतलाई खोस्न नदिनेगरी अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशनसमेत दिए । ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरूलाई एमालेमै फर्कन पनि आग्रह गरे । प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरूलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीको आग्रह छ ।
राम्री केटी देखेपछि छ्वास्स टाउकोमा सिन्दूर हालेर भाग्ने । के भो, के भो भन्दाभन्दै ह्वाँ पुगिसक्यो । माइतीहरू सिन्दूर हालिहाल्यो खोजेर सिन्दूर लाउने कहिले माकुनले सिन्दूर हालिदिएको छ झुक्याएर । कहिले प्रचण्डले झुक्याएर छ्वास्स हालिदिएको छ, सिन्दूर । कहिले कांग्रेसले हालिदिएको छ । आउनुस्, तिनीहरूले झुक्याएर हालिदिएका सिन्दूरहरू छोडिदिनुस् । एमालेका आउनुस्, देश बनाउने अभियानमा लागौँ, ओलीले भने ।
