सिँजादर्पण काठमाण्डौ ।। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभ्नरगाभिनको लागि बिहीबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।
