सिँजादर्पण, २४ असार, काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो ।जापानका मिडियाहरुका अनुसार उनी बेहोस अवस्थामा छन् । समाचार एजेन्सी एनएचकेका अनुसार गोली लागेको ठाउँबाट रगत बगिरहेको थियो । त्यसपछि उनलाई हृदयाघात भएको हुनसक्ने अनुमान छ ।
उनलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर छ । गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् ।यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो । गोली लागेपछि उनी भुइँमा लडेका थिए ।उनलाई तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो ।
