सिँजादर्पण, श्रीलङ्काको राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवास र त्यस आसपासका भवनहरूमा प्रवेश गरेका छन्।समाचारहरूमा राष्ट्रपतिलाई सुरक्षित स्थानमा लगिएको भनिएको छ।यसैबिच सर्वदलीय सरकार गठनका लागि मार्गप्रशस्त गर्नेगरी प्रधानमन्त्री रनिल विक्रमासिङ्ग राजीनामा गर्न सहमत भएको उनको कार्यालयले जनाएको छ।
पछिल्ला विवरण अनुसार प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा समेत प्रवेश गरेका छन्।दशकौँयता श्रीलङ्काले भोगिरहेको खराब आर्थिक सङ्कटलाई राष्ट्रपतिले सही ढङ्गले सम्बोधन नगरेको भन्दै आक्रोशित प्रदर्शनकारीको भीडलाई सम्हाल्न सुरक्षा निकायलाई धौधौ परेको समाचारहरूमा जनाइएको छ।कोलम्बोको सरकारी क्षेत्र प्रवेश गर्ने क्रममा आन्दोलनकारीहरूले राष्ट्रपतिको राजीनामा माग्दै ूगोटा गो होमू नारा लगाएका थिए।
एक जना वरिष्ठ रक्षा अधिकारीले एएफपी समाचार संस्थासँग भनेका छन्, राष्ट्रपतिलाई सुरक्षित रूपमा बाहिर लगिएको छ। उनी अझै पनि देशका राष्ट्रपति हुन्। उनलाई सेनाको युनिटले सुरक्षा दिइरहेको छ। यसअघि राजधानी कोलम्बोमा जम्मा भएको ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
