सिँजादर्पण,काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेका छन् । प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्न प्रयासरत थिए । देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा बस्दै आएका थिए ।रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले राष्ट्रपति राजपाक्षेले देश छाडेको खबर लेखेको छ ।
उनले मंगलबार कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीलंकाको सैन्य विमान एन्टोनोभ(३२ मार्फत देश छाडेका हुन् । विमानमा ७३ वर्षीय राजापाक्षे, उनकी श्रीमती र एक अंगरक्षकसहित चार यात्रु रहेका छन् ।कतिपय सञ्चार माध्यमले उनी माल्दिभ्स पुगेको उल्लेख गरे पनि यसको पुष्टि हुन नसकेको l माल्दिभ्समा अवतरणको अनुमति नहुँदा अन्योलमा परेपछि विमान एक घण्टाभन्दा बढी टार्माकमा रोकिएको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।
राष्ट्रपति राजापाक्षेलाई पदच्यूत गर्न प्रदर्शनकारीले महिनौंदेखि प्रदर्शन जारी राखेपछि बुधबार उनले आधिकारिक रूपमा राजीनामा दिएका थिए । यसअघि सोमबार राति उनले दुबई भाग्ने असफल प्रयास गरेका थिए । सोमबार राति अध्यागमनका अधिकारीहरूले उनलाई राहदानीमा छाप लगाउन विमानस्थलको भीआईपी कक्षमा जानबाट रोकेका थिए । नागरिकहरूले प्रयोग गर्ने सामान्य लाइनमा बस्न उनी डराएका थिए । नतिजास्वरुप उनले संयुक्त अरब इमिरेट्सका चार उडानहरू गुमाएका थिए ।
विमानस्थलबाट फर्किएका राजापाक्षेले श्रीमती र एक दर्जन परिवारका अन्य सदस्यसहित सैन्य शिविरमा रात बिताएका थिए ।यसअघि पनि देश छाड्न प्रयास गरेका उनलाई भारतले श्रीलंकाको सैन्य विमान अवतरण गर्न अनुमति दिएको थिएन भने अमेरिकी दूताबासले उनलाई भ्रमण भिसा दिन अस्वीकार गरेको थियो । उनी राष्ट्रपतिको उम्मेदवार बन्नुअघि वर्षौंदेखि अमेरिका बस्दै आएका थिए । त्यहाँ उनका एक छोरा र नातिनातिना रहेका छन् । राष्ट्रपतिको उम्मेदवार बन्न उनले अमेरिकी नागरिकता त्यागेका थिए । सोही कारण अमेरिकाले उनलाई आगन्तुक भिसा दिन अस्वीकार गरेको हो ।
