सिँजादर्पण, जुम्ला । प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानव समाजको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, अ(समानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज, अनुसन्धानको कमी तथा तिनको संरक्षण अभावमा धेरै तालहरू गुमनाम जस्तो अवस्थामा छन् ।
जुम्लाको पातारासी हिमाल, संसारको उच्च स्थानमा धान फल्ने ठाउँ छुमचौर ज्यूला, जुम्ला तातोपानी गाउँपालिकास्थित पहाड फोडेर निस्केको तातोपानी धारा, लक्षालकृति पैकला (वीरयोद्धा), मार्सी धान सुरुआत गरिएको गुरुफोक्टो, चन्दननाथ भैरवनाथ मन्दिर, मष्टो प्रथा, गुठीचौर भेडा अनुसन्धान केन्द्र, तिला त्रिवेणीलगायतका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरू अध्ययन, अनुसन्धान र पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिन्छन् ।
जुम्ला तातोपानी गाउँपालिकामा अवस्थित गिडीदह जाने पर्यटकीय पदमार्ग आजसम्म बनेको छैन । सो दहको दक्षिणपूर्वी भागमा रहेका पालेदह, शङ्खदह, जोगिनीदह, नदैडाव पनि ओझेलमा छन् । समुद्री सतहदेखि करिब चार हजार ६ सय मिटर उचाइमा रहेका यी तालहरूको न प्रचार–प्रसार हुनसकेको छ न त त्यहाँ जाने बाटो नै बनेको छ । त्यसले गर्दा ती तालहरू महत्वहीन अवस्थामा छन् ।पर्यटकीयस्थल गुठीचौर गाउँपालिकामा रहेका तालहरूको अवस्था पनि त्यस्तै छ । सो गाउँपालिकाको वडा नं १ मणिसाँघुबाट डेढ दिनको दूरीको चार हजार ७०० मिटरमा अवस्थित आकाशे ताल ९स्काइ लेक०, चार हजार ३०० मिटर उचाइको हिउल्सा ताल र चार हजार मिटर उचाइमा रहेको दूध कुण्डली ताल पर्यटकहरूको पर्खाइमा छन् ।
ती तालहरू भने सात वर्षअघि चौँरी पालक गोठालाहरूले पत्ता लगाएका थिए । ती तालहरू रहेको क्षेत्रमा भने तीन दिनअघि सोही वडाका वडाध्यक्ष अर्जुनकुमार महताराको टोली अवलोकन गरेर फर्केको छ ।गोठीचौर गाउँपालिका–१ जुम्लाको प्रशासनिक केन्द्र मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको आकाशे तालमा पहिलोपटक वडाध्यक्ष टोली पुगेर फर्केको हो । “यसअघि चौँरी गोठालाहरू मुस्किलले त्यहाँ पुगेका रहेछन्”, वडाध्यक्ष महताराले भने, त्यो पनि चौँरी हराउँदा खोज्दै जाने क्रममा ताल देखिएको रहेछ ।”
ताल पत्ता लगाउन भूमिका खेलेका सोही वडाका स्थानीय साम्बो गुरुङका अनुसार विसं २०७२ मा चौँरी खोज्दै जाने क्रममा तालमा पुगिएको बताए । त्यहाँ सजिलै मान्छे नपुग्ने र त्यसको महत्वबारे थाहा नभएकाले पनि आकाशे तालको कुरा बाहिर आउन नसकेको उनले बताए ।
