सिँजादर्पण ।। भावी संसद्को लगभग अन्तिम चुनावी परिणामले खाका प्रस्तुत गरिरहँदा साना दल र स्वतन्त्र सांसदहरूको बलियो उपस्थितिका कारण सांसदहरूको विगतमा जस्तो दलको छायामा रहने अवस्था फेरिनसक्ने राजनीतिक विश्लेषकहरूले बताएका छन्।
कुल २७५ प्रतिनिधिसभा सदस्यमध्ये १६२ सिट प्रत्यक्ष र झन्डै १ करोड पौने चार लाख समानुपातिक मतको गणना भइसक्दा हालसम्म प्रतिनिधिसभाको ७७ सिट मुख्य तीन दल बाहेकका राजनीतिक दल र स्वतन्त्र सांसद्हरूले प्राप्त गर्ने देखिन्छ।
मूलधारका दलहरूभन्दा कैयौँ सवालमा फरक दृष्टिकोण राखिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक प्रणाली सहितको गणनाका आधारमा झन्डै ३५ सिट प्राप्त गर्ने देखिएको छ।
ती दुवै दल संसद्मा आक्रामक रूपमा प्रस्तुत हुन सक्ने भन्दै एक जना टिप्पणीकारले उनीहरूलाई नजरअन्दाज गरेर अघि बढ्न पुराना दललाई कठिन हुने बताए। यसपटक प्रतिनिधिसभाका लागि अभिव्यक्त भएको जनमतबाट कम्तीमा ७ वटा पार्टी राष्ट्रिय दल बन्ने देखिएको छ।
सत्ता गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र राष्ट्रिय दल बनिरहँदा विपक्षी गठबन्धनमा आबद्ध भएर निर्वाचन लडेका नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय दल बनिसकेका छन्।
त्यसबाहेक नयाँ दलका रूपमा उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र तराईमा सीके राउतले नेतृत्व गरेको राष्ट्रिय जनमत पार्टी पनि राष्ट्रिय दल बनेका तथ्याङ्कले देखाउँछ।
ती दल बाहेक पहिलो हुनेले जित्ने प्रणालीमा १० सिट जितेको नेकपा एकीकृत समाजवादी सहित ५ दल र पाँच स्वतन्त्र सांसदहरूको उपस्थिति भावी संसद्मा हुने देखिएको छ।राजनीतिक विश्लेषक पुरञ्जन आचार्य अबको संसद् सजीव, विविधतायुक्त र मुद्दा केन्द्रित हुनसक्ने आफूले देखेको बताउँछन्।
उनले भने, “जुन ढङ्गले नयाँ नयाँ मानिसहरूको, युवाहरूको प्रवेश भएको छ उनीहरू राजनीतिमा हस्तक्षेप गर्ने सुरसार सहित नै आएका हुन्। त्यसले गर्दा अबको संसद्मा नीतिगत रूपमा राम्रो बहस हुनुपर्ने हो।”गठबन्धनभित्र राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीन दलमा भाग लगाउनुपर्ने माग
यस निर्वाचनबाट कम्तीमा ७ राष्ट्रिय दल बन्दै, एकीकृत समाजवादीको ुलक्षण देखिएनु राजधानीका चार वटा निर्वाचन क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासनको मुद्दा उठाएको र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले राजनीतिक सवालहरू उठाएका उल्लेख गर्दै उनले ती दलहरूका कारण मूलधारका पार्टीहरूले दबाब सामना गर्ने टिप्पणी गरे।
उनले थपे, “जुन कांग्रेस, एमाले र माओवादी जस्ता मूलधारका दल छन् यिनीहरूले आफ्ना सांसदहरूलाई झन्डै झन्डै ह्विप जारी गरेर, बोल्न नदिएर दास जस्तै बनाएका थिए। तर नयाँको प्रवेशले संसद्को गुणस्तर र ऊर्जा दुवै परिवर्तन भएको छ। त्यो बहसको थलो बन्न सक्छ र मूलधारका दलहरू पनि बाध्य हुन्छन्।”संवैधानिक राजतन्त्र, सङ्घीयता खारेजी र हिन्दु राष्ट्रको पक्षमा उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका कतिपय नेताहरूले प्रतिपक्षमा बस्ने धारणा सार्वजनिक गरेका छन्।प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आफूलाई उभ्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षले सरकारमा जान तयार रहे पनि त्योभन्दा अघि कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा आफूहरूले हेरिरहेको प्रतिक्रिया दिएका छन्।
