काठमाडौँ ,।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलाल पुँजीवादीका लागि राज्यले राष्ट्रिय पुँजीपतिहरुलाई दुख दिने काम गरेको बताएका छन् ।आइतबार एमाले मुख्यालय च्यासलमा पार्टीको सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको कार्यक्रममा ओलीले अरुको स्वार्थका लागि राज्यले छानिछानी राष्ट्रिय पुँजीपतिहरुलाई दुख दिने काम गरेको बताएका हुन् ।व्यवसाय गरेर राज्यलाई योगदान दिएका मीनबहादुर गुरुङ पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने कुनै कारण नभएको उनले बताए । ओलीले भ्रष्टाचार र अनियमितताविरुद्ध कारवाही गर्ने नाममा सरकारले पोलिटिकल स्टन्ट गरेको तर्क गरे ।
उनले कोरोना र विश्वपरिवेशको अवस्थामा समस्यामा परेका व्यवसायीहरुमाथि गठबन्धन सरकार आउदा चट्याङ परेको जस्तो भएको बताए । राज्यको गलत नीतिका कारण अर्थव्यवस्था धरासयी हुँदा व्यसायीहरु पनि अप्ठेरोमा परेको भन्दै उनले अप्ठेरोमा परेका बैंकहरुले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।उनले कांग्रेस नीतिगत हिसाबले सहकारीको पक्षमा नरहेको र माओवादीलाई पनि सहकारी नीतिप्रति सरोकार नरहेको जिकिर गरे । दुई चार क्वीन्टल सुन ल्याउनजस्तो फाइदा सहकारीमा नरहेको विचार माओवादीको रहेको उनको भनाइ छ ।अध्यक्ष ओलीले जनताको आत्मनिर्भरता निर्माण गर्न सहकारीको सदुपयोग गर्नुपर्ने र यसलाई माध्यम बनाउनुपर्ने धारणा राखे ।
