सिँजादर्पण, काठमाडौँ । रुसले घोषणा गरेको ३० घण्टाको इस्टर युद्धविरामको समय सकिएको छ । यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले रूस र युक्रेन चाँडै शान्ति सम्झौतामा पुगेनन् भने आफूले शान्ति सम्झौताको लागि प्रयास त्याग्ने बताएपछि रुसले इस्टर युद्धविरामको घोषणा गरेको हो । ट्रम्पले रूस र युक्रेनले चाँडै शान्ति सम्झौतामा गरेनन् भने आफू शान्ति पहलबाट पछि हट्ने बताएका थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयले आइतबार पछि पनि इस्टर युद्धविराम जारी राख्न चाहेको बताएको थियो । तर त्यस्तो भने हुन सकेन । रुस र युक्रेनले ३० घण्टा लामो इस्टर युद्धविरामको क्रममा एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप समेत लगाएका छन् ।
तर ट्रम्पले भने यो युद्धविरामको बारेमा केही भनेका छैनन् । आफ्नो सामाजिक सञ्जाल पोस्टमा उनले रूस र युक्रेन यो हप्ता सम्झौतामा पुग्न सक्ने उल्लेख गरेका छन् । उनले रूस र युक्रेनले सम्झौता पछि अमेरिकासँग राम्रो व्यापार गर्न सक्ने समेत विश्वास व्यक्त गरेका छन् । ट्रम्पले राष्ट्रपति बनेको २४ घण्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने बताएका थिए । ट्रम्पले शान्ति सम्झौतामा पुग्न नसकेकोमा दुवै पक्षलाई दोष दिँदै आएका छन् ।
