
काठमाडौं सिजादर्पण ३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेका छन् । अमेरिकाले कोरोनाविरुद्धको लडाइँको बेला विश्वभर समन्वय गरिरहेको डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो ।
ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको भन्दै आलोचना गर्दै आएका थिए । नियमित प्रेस बिफ्रिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओको भूमिकाको समीक्षा गरेको र प्रभावकारी काम गर्न असफल रहेको बताउँदै सहयोग रोक्न निर्देशन दिएको बताए ।
ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप लगाए । डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पले आरोप लगाए । उनले यसको जिम्मेवारी डब्लुएचओले लिनुपर्ने बताए ।
अमेरिका डब्लुएचओको सबैभन्दा ठूलो दाला राष्ट्र हो । गत वर्षमात्र अमेरिकाले ४ सय मिलियन डलर उपलब्ध गराएको थियो ।
ट्रम्पले कोरोनालाई चिनियाँ भाइरस भएको र चीनले योजनाबद्ध रुपमा विश्वमा फैलाएको आरोप लगाउँदै गर्दा कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह गरेको थियो ।
ट्रम्पले कोरोनाको जिम्मा चीनले लिनु पर्ने कुरा डब्लुएचओले निर्णय गर्न दवाव दिन दिँदै आएको थियो । त्यसपछि डब्लुएचओले कोरोना भाइरसको महामारीलाई कसैले पनि राजनीतिकरण गर्न नहुने बताएको थियो । ट्रम्पले सहयोग कटौती गर्ने निर्णय गरेसँगै अमानवीय कदम भन्दै आलोचना सुरु भएको छ ।
अमेरिकाले सहयोग कटौती गरेसँगै डब्लुएचओलाई चीनले सहयोग बढाउने बताइएको छ ।
