सिजादर्पण ११ जेठ १२ जेठ, वीरगञ्ज । कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् ।
अस्पतालका डा. उदयनारायण सिंहका अनुसार उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनका अनुसार वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् ।गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गरिएको थियो ।परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।
आइतबार राति १८ जना निको भएर घर फर्किएसँगै नारायणीमा ४४ जना र गण्डक कोभिड अस्पतालमा २७ गरी ७१ जना संक्रमित उपचाररत छन् । पर्साका एक जना संक्रमित भने बाराको कलैया अस्पतालमा उपचाररत छन् ।आइतबार तीन जना संक्रमित थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ ।
यसअघि शनिबार पनि नाराणी अस्पतालबाट ९ जना डिस्चार्ज भएका थिए । जसमध्ये तीन जना पर्साका, तीन जना राैतहटका, २ जना बाराका र एक जना भारतीय नागरिक थिए ।
वीरगञ्जमा आइतबार रातिसम्म काेराेना निकाे भएर फर्कने कुल २९ जना रहेका छन् । जसमध्ये वैशाख १४ गते ४ जना (जसमध्ये २ जनामा पुन: संक्रमण देखा परेपछि अस्पताल भर्ना भएका), जेठ १० गते ९ जना (पुन: भर्ना भएकासहित २ जना) र जेठ ११ गते एकै परिवारका १८ जना रहेका छन् ।
