सिजादर्पण २६ जेठ काठमाणडौ ।भारोत्तोलनकी खेलाडी तारादेवी पुन लकडाउनअघि नै म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित घर पुग्दा भर्खरै आलु रोपेर सकिएको थियो । केही दिनपछि लकडाउन सुरु भयो । र, उनले आफूलाई आलुखेतीको स्याहारमा लगाइन् । दुईपटक आलु गोडिन् । ‘अब आलु भित्र्याउन पनि पाउँछु जस्तो छ,’ उनी भन्छिन् । उनले आफूलाई कृषिकर्ममा लगाएको दुई दशकपछि हो । र, त्यो अवसर जुराइदियो, लकडाउनले । खेलजीवन लयमा फर्किन अझै कति समय लाग्छ भन्ने निश्चित छैन । ‘कृषिकर्ममा फर्किंदा पुराना दिन ताजा भएर आएका छन्,’ उनी भन्छिन्, ‘फुर्सदको समयमा परिवारलाई सहयोग गर्न पाउँदा खुसी छु ।‘कहिले साथीभाइ आएर सघाउँछन्, कहिले उनीहरूकोमा गएर काम गरिन्छ,’ उनी भन्छन्, ‘गाउँघरमा अर्मपर्मको चलन अझै हराएको छैन ।’
फुटबल खेलाडी आशिष लामाले पनि आफूलाई नुवाकोटको विदुर नगरपालिकास्थित घरमा कृषिकर्ममै व्यस्त राखेका छन् । कतारमा हुने तय भएको विश्वकप छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपालको राष्ट्रिय टोलीको बन्द प्रशिक्षण २ चैतदेखि सुरु भएको थियो । तर, नेपालमै कोरोना भाइरसको संक्रमण देखिन थालेपछि ९ चैतमा प्रशिक्षण स्थगित भयो । प्रशिक्षक योहान कालिन स्विडेन फर्किए भने खेलाडी पनि आ-आफ्नो घरतर्फ लागे । ‘त्यसलगत्तै घर फर्केर खेतीपातीमा व्यस्त छु,’ उनी भन्छन् ।
गाउँमा यतिवेला वर्षभरिका लागि दाउरा जम्मा गर्ने चटारो छ । दोस्रोपटक मकै गोड्ने समय पनि हो, यो । सहिद स्मारक लिगको गत संस्करणका सर्वाधिक गोलकर्ता खेलाडी उनी परिवारसँग दाउरा काट्न र मकै गोड्न व्यस्त छन्, यतिवेला । १२ वैशाख ०७२ को भूकम्पलगत्तै उनी घर पुगेर करिब २२ दिन बिताएका थिए । फुटबलको करिअर अगाडि बढाएयता उनले यति लामो समय घरमा बिताएको यो पहिलोपटक हो ।
राष्ट्रिय फुटबल टोलीकै स्ट्राइकर अञ्जन विष्ट पनि अहिले हेटौँडास्थित घरमा पुगेका छन् । पोखरामा सम्पन्न आहा-रारा गोल्डकप खेलेर घर पुगेका उनी लकडाउनका कारण उतै अड्किए । आहा-रारा गोल्डकपमा सहभागी राष्ट्रिय टोलीका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको थिएन । दैनिक घरायसी कामबाट फुर्सद निकालेर अभ्यासमा जुट्छन्, उनी ।
बन्द प्रशिक्षण स्थगित भएपछि पोखरा महानगरपालिकाको लेखनाथस्थित घर पुगेका फुटबल खेलाडी अजित भण्डारी पनि कृषिकर्ममै व्यस्त छन् । धानखेतीको तयारीका लागि खेतको आली ताछ्ने र भित्ता खुर्किने काम चलिरहेको छ, अहिले । गाउँघरमा साथीभाइसँग उनी त्यसैमा व्यस्त छन् । ‘कहिले साथीभाइ आएर सघाउँछन्, कहिले उनीहरूकोमा गएर काम गरिन्छ,’ उनी भन्छन्, ‘गाउँघरमा अर्मपर्मको चलन अझै हराएको छैन ।’ करिब १२ वर्षपछि उनी यसरी खेतीपातीमा संलग्न भएका हुन् । अब धान रोपेरै काठमाडौं फर्किन पाइने उनको आशा छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरीलाई करिब पाँच वर्षपछि यसपटक धान रोप्ने अवसर जुरेको छ । गाउँघरमा हुर्केका सबैजसो खेतीपाती भनेपछि हुरुक्कै हुन्छन् । ऐरीमा पनि खेतीप्रतिको त्यस्तै मोह छ । क्रिकेटमा करिअर सुरु भएयता उनले धान रोपाइँमा रम्ने अवसर पाएका थिएनन् । ‘यसपटक बल्ल त्यो अवसर पाएको छु,’ उनी भन्छन् ।
