सिजादर्पण ८ असार काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ को परिक्षण बढी गरेका कारण अमेरिकामा संक्रमितहरु धेरै देखिएको भन्दै अब परिक्षण कम गर्न आग्रह गरेका छन् । लकडाउन खुकुलो बनाएर नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि गरिएको एक चुनावी सभामा सम्बोधन गर्दै ट्रम्पले सो आग्रह गरेका हुन् ।
अमेरिकाको ओक्लोहोमामा आयोजना गरिएको चुनावी सभामा झण्डै दुई घण्टा लामो सम्बोधन गरेका ट्रम्पले परीक्षण धेरै हुँदा अमेरिकामा संक्रमणका केसहरु धेरै थाहा भएको दावी गरे । सभामा मास्क नै नलगाएर उपस्थित भएका ट्रम्पको यो भनाइप्रति धेरैले आपत्ती जनाएका छन् ।
ट्रम्पको सभामा सहभागी हुन आएकाहरु भने ट्रम्पलाई जोगाउनका लागि आफ्नो स्वास्थ्यको पर्वाह नै नगरेको देखिएको थियो । स्थानीय अधिकारीका अनुसार सभा सुरु हुनु भन्दा केही पूर्व मात्रै आयोजक टिमका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । तर अधिकांश सहभागीहरु ट्रम्प जस्तै मास्क नलगाइ सहभागी भएका थिए ।
शनिबार बेलुका ९नेपाली समय अनुसार आइतबार बिहान० ओक्लोहोमा सभा सुरु हुनु अघि ¥याली निकालिएको थियो । र्याली र चुनावी सभामा भने ट्रम्पको टिमले दावि गरे वमोजिम सहभागिता नभएको बताइएको छ।
सभा टल्सा स्थित ब्यांक अफ ओक्लोहोमा सेन्टरमा भएको थियो । त्यहाँ १९ हजार व्यक्ति अट्ने क्षमता रहेको भए पनि ट्रम्पको टिमले भने सो सभामा सहभागी हुन १० लाख भन्दा बढीले टिकटका लागि आवेदन दिएको दाबी गरेका थिए । अमेरिकी सञ्चारमाध्यमले सभा भएको ब्यांक अफ ओक्लोहोमा सेन्टरका अधिकांश सिटहरु खाली नै देखिएको बताएका छन । सहभागी अधिक हुन सक्ने आंकलन गरी ट्रम्पले सेन्टर बाहिर खुला स्थानमा सम्बोधन गर्ने व्यवस्था गरिएको थियो । तर सहभागिता कम भएपछि सो योजना कार्यान्वयनमा आउन सकेन ।
कोरोना भाइरसको महामारी कायमै रहेका बेला सार्वजनिक स्थानमा हजारौँ मानिसको सहभागितामा चुनावी सभा गर्न लागिएको प्रति विभिन्न क्षेत्रबाट चासो र चिन्ता व्यक्त भएको थियो । यस्ता सभाबाट संक्रमण थप फैलिन सक्ने भन्दै स्वास्थ्य विज्ञ र स्थानीय अधिकारीले चासो व्यक्त गरेका थिए । सभा विरुद्ध अदालतमा मुद्दा पनि परेको थियो ।
अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । सो चुनावमा ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित हुने होडमा छन् । उनलाई डेमोक्र्याटिक पार्टीका जो बाइडेनले चुनौति दिने छन् । यो समाचार ननस्टव खवरमा छ ।
