बेलायतमा महामारी सुरु भएयता सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख पचास हजार नाघेको छ । । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना सङ्क्रमितको मृत्यु भएपछि कुल मृतक सङ्ख्या एक लाख पचास हजार ५७ पुगेको हो ।
बेलायतमा सङ्क्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएमा सङ्क्रमणका मृतकको रूपमा घोषणा गरिन्छ । विश्वभरमा सङ्क्रमणका कारण मृत्यु हुने सङ्ख्या एक लाख पचास हजार नाघ्ने मुलुकमा अमेरिका, ब्राजिल,भारत, रसिया, मेक्सिको र पेरुपछि बेलायत सातौँ स्थानमा पर्दछ । यसैगरी बेलायतमा पछिल्लो २४ घण्टामा थप एक लाख ४६ हजार ३९० जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक करोड ४३ लाख ३३ हजार ७९४ पुगेको छ ।
कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण बढेपछि बेलायतमा हाल सङ्क्रमण दर तीव्र रूपमा फैलिएको छ । अघिल्लो हप्ता दैनिक सङ्क्रमण दुई लाख बीस हजार नाघे पनि पछिल्ला दिनमा सङ्क्रमण दर केही ओरालो लागेको छ । सङ्क्रमण दरमा आएको तीव्रताका कारण बेलायतका अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ ।
