सिँजादर्पण, काठमाडौं ।क्यानको आर्थिक प्रतिबन्ध हटेपछि आईसीसीको टोली काठमाडौंमा आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ क्यान माथि लगाएको कन्ट्रोल फण्डिङ आर्थिक प्रतिबन्ध०हटाएपछि अब क्यानले स्वतन्त्र रुपमा खर्च गर्न पाउने भएको छ ।क्यानमाथिको कन्ट्रोल फण्डिङ हटाएपछि शुक्रबार नेपाल आएको आईसीसी प्रतिनिधिले सञ्चारकर्मीसँग अन्तर्क्रिया कार्यक्रममा क्यानमाथिको कन्ट्रोल फण्डिङ हटेको र अब क्यानले स्वतन्त्र रुपमा खर्च गर्न पाउने बताएको हो ।
यस्तै क्यान अध्यक्ष चतुरबहादुर चन्दले कन्ट्रोल फण्डिङ हटाउन आईसीसीका प्रतिनिधिहरुको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । ‘आईसीसीले निलम्बन फुकुवा गरेपनि कन्ट्रोल फण्डिङ थियो । हामीले आईसीसीका शर्तहरु पालना गर्यौँ । एसोसिएट टिमको रुपमा सबै पालना गर्नुपर्ने काम गरेपछि आईसीसीले कन्ट्रोल फण्डिङ हटाएको हो,’ चन्दले भने ।
यसबाट नेपाली क्रिकेटको थप विकासका लागि उर्जा आएको र अब क्यानले आफैं काम गर्न सक्ने अवस्था आएको पनि चन्दले बताए ।यस्तै क्यान कार्यवाहक सचिव प्रशान्त मल्लले अब स्वतन्त्र रुपमा खर्च गर्न पाउने बताए । ‘पहिला बिल भर्पाई बनाएर पठाएपछि आईसीसीबाट पैसा आउँथ्यो । अब हामीले स्वतन्त्र रुपमा खर्च गर्न पाउँछौँ’ उनले भने ।क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै आईसीसीले सन् २०१६ अप्रिलमा निलम्बन गरेको थियो । क्यानको नयाँ कार्यसमिति चयन भएपछि करिब साढे ३ वर्षपछि आईसीसीले आर्थिक प्रतिबन्ध कायम राखेर अरु प्रतिबन्ध फुकुवा गरेको थियो ।
‘निलम्बन फुकुवा गरेपछि पनि कन्ट्रोल फण्डिङ हट्न साढे दुई वर्ष लाग्यो । किनभने हामी अडिट पठाउँथ्यौँ अनि सुधार गर्नुपर्ने कुरा हुन्थ्यो । हामीले क्लिन र सन्तुष्ट अडिट रिपोर्ट पठाएपछि आईसीसीले यसलाई हटाएको हो’ मल्लले अघि भने ।शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको थियो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्ट चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टकाका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारीको उपस्थिति थियो ।
सो अवसरमा मन्त्री गहतराजले नेपाल सरकारले क्रिकेटको विकासमा ध्यान केन्द्रित गरी क्रिकेट रंगशाला निर्माणमा लगानी गरेको बताउदै झापा, चितवन, लुम्बिनी, मूलपानीलगायतका स्थानमा पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको अवगत गराए । मन्त्री गहतराजले नेपालमा क्रिकेटले पनि फुटबल सरहनै लोकप्रियता हासिल गरेको बताउँदै आईसीसीले नेपाली क्रिकेटको विकासमा गरेको लगानीका लागि धन्यवाद दिए ।
