काठमाण्डौ। नोभेम्बर महिनामा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको कतारले ज्याला नपाएकोमा विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देशबाट निकाला गरिदिएको छ।कम्तीमा ६० जना कामदारहरूले निर्माण कम्पनी अल बन्दारी इन्टर्न्याशनल ग्रुपको दोहास्थित कार्यालय सामु अगस्ट १४ मा र्याली गरेका थिए।तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको बताइएको छ।लगत्तै केही कामदार पक्राउ परे भने केहीलाई देशबाट निकाला गरियो। तर स्पष्ट सङ्ख्या थाहा भएको छैन।इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका अनुसार त्यसरी निकालिनेमा नेपाल, बाङ्ग्लादेश, भारत, इजिप्ट र फिलिपिन्सका श्रमिक रहेका छन्।सन् २०१० मा कतारले विश्वकप फुटबल आयोजनाको अधिकार पाए यता त्यहाँ रङ्गशाला तथा अन्य पूर्वाधार निर्माण तेज भएको थियो। सँगसँगै उसले आप्रवासी श्रमिकहरूप्रति गर्ने व्यवहारमाथि पनि प्रश्न उठेका थिए।अल बन्दारी इन्टर्न्याशनल ग्रुप नामक कम्पनी खासगरि निर्माण तथा इन्जिनियरिङमा संलग्न छ।अहिले विवादमा परेका श्रमिकहरू विश्वकप तयारीकै निर्माण कार्यमा सामेल थिए वा थिएनन् भन्ने थाहा भएको छैन। आयोजक समितिले यसबारे टिप्पणी गर्न अस्वीकार गर्यो।कतार सरकारका अनुसार त्यहाँ काम गर्न योग्य ९६ प्रतिशत कामदारहरूलाई ज्यालाको सुरक्षा प्रणालीले समेट्छ। जसअन्तर्गत काम लगाउने कम्पनीहरूले ज्याला दिनुपर्ने समयको सातदिनभित्र सबै ज्याला कतारी ब्याङ्कमार्फत् भुक्तानी गर्नु पर्छ।उसले यस प्रणालीका कमजोरीहरूपनि खोजबिन गरिरहेको बताएको छ।
