काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटी एस्टन भिल्लासँग १(१ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटीले पहिले अग्रता लिए पनि एस्टन भिल्लाले घरेलु मैदानमा बराबरी गोल फर्काएको थियो । यस सिजन सिटीले दोस्रो पटक खेलमा अंक गुमाएको छ ।
पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो । ५०औं मिनेटमा एर्लिङ हालान्डले केभिन डे ब्रुएनाको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । हालान्डले यस सिजन ६ खेलमा १० गोल गरिसकेका छन् ।तर ७४औं मिनेटमा लियो बेलीले एस्टन भिल्लाका लागि बराबरी गोल गरे । बराबरीपछि सिटी ६ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा छ । एस्टन भिल्ला ६ खेलबाट ४ अंकसहित १७औँ स्थानमा छ ।टोटनहमहले फुलहमलाई २(१ ले हराएर सिटी समान १० अंक जोडेपछि गोलअन्तरमा सिटी अघि छ । टोटनहमका लागि पिएरे एमिल होजवर्ग र ह्यारी केनले गोल गरे । फुलहमका अलेक्जान्डर मिट्रोभिकले गोल गरे ।
