सिँजादर्पण,मस्को, डेली विस्ट । यसै साता युक्रेनमा मस्कोले शृङ्खलावद्ध लज्जास्पद पराजय भोग्नुपरेको कारण धेरै भन्दा धेरै रुसी अधिकारीहरुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्रेमलिनबाट बाहिर जान आग्रह गरेका छन् ।
पुटिनको गृहनगर सेन्ट पिटर्सवर्गमा थुप्रै नगरपालिका प्रतिनिधिले उनलाई देशद्रोहीको अभियोगमा मुद्दा चलाउन स्टेट डुयुमालाई आह्वान गरेको एकदिन पछि उनका आफ्नै सहकर्मीहरुले मस्कोमा जम्मा भएर उनका विचार ‘निराशजनक रुपमा पुरानो’ भएको भन्दै उनलाई राजीनामा दिन आग्रह गरेका छन् ।
रुसी राजधानीको लोमोनोसोभ्स्की जिल्लाका नगरपालिकाका प्रतिनिधिहरुले पुटिनलाई एउटा खुल्लापत्र मार्फत उनले पहिलो कार्यकाल र दोस्रोको केही भागमा राम्रो सुधार कार्य गरेको तर त्यसपछि सबै कुरा गलत हुन थालेको जानकारी गराएका थिए ।
तर तिनीहरुले आफ्ना असन्तुष्टि पोख्ने क्रममा युक्रेन विरुद्धको युद्धबारे केही पनि उल्लेख गरेका छैनन् । क्रेमलिनले अहिलेसम्म पनि युक्रेन माथिको आक्रमणलाई युद्धको संज्ञा दिनुको सट्टा ‘विशेष सैनिक अभियान’ मात्र भन्ने गरेको छ ।
