काठमाण्डौ ।। उत्तर र दक्षिण कोरियाले एक अर्कातर्फ क्षेप्यास्त्र प्रहार गरेका छन्। ती क्षेप्यास्त्रहरू दुवै देशका तटस्थित पानीमा खसेका छन्।कोरिया विभाजन भएयता पहिलोपटक ती दुई देशले समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार गरेका हुन्। त्यसले उक्त क्षेत्रमा तनाव निकै बढेको सङ्केत गर्छ।प्योङयाङले बुधवार छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि सोलले त्यसको प्रतिउत्तरमा प्रहार गरेको हो।उत्तर कोरियाले त्यस्तो क्षेप्यास्त्र प्रहार गरेको तीन घण्टापछि दक्षिण कोरियाले प्रतिउत्तर दिएको थियो।उत्तर कोरियाले एकै दिन कम्तीमा २३ वटा क्षेप्यास्त्रहरू प्रहार गरेको छ।त्यसमा दक्षिणी सहर सोक्चोभन्दा ६० किलोमिटरभन्दा कम दूरीमा खसेको क्षेप्यास्त्र पनि सामेल छ।उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाद्वारा भइरहेको ठूलो मात्राको सैन्य अभ्यासको प्रतिक्रिया स्वरूप ती प्रहारहरू भएको बताएको छ।
