सिँजादर्पण काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले पहिरोमा वेपत्ता भएका नेपालीको खोज तथा उद्धारकालागि भारतसँग आग्रह गरेका छन् । शनिबार उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीलाई टेलिफोन गर्दै उनले उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन् । बिहीबार रातिदेखि भएको वर्षासँगै खसेको पहिरोमा परी १३ नेपाली वेपत्ता छन् । साथै पहिरोमा ६ जना भारतीय पनि बेपत्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बेपत्ताहरूको खोजिका लागि आफूले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको उत्तराखण्डका मुख्यमन्त्री धामीले बताएको मन्त्री साउँदको सचिवालयले जनाएको छ । यसअघि परराष्ट्रमन्त्री साउदले शुक्रबार नै दिल्लीस्थित नेपाली राजदूतावासलाई भारत सरकारसँग समन्वय गरेर बेपत्ता भएका नेपालीको खोज, उद्धारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।
