सिँजादर्पण काठमाण्डौँ ।। पाकिस्तान तहरीक(ए(इन्साफ पीटीआई० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री इमरान खानलाई एउटा भ्रष्टाचारको मुद्दामा लाहौरस्थित उनको निवासबाट गिरफ्तार गरिएपछि पञ्जाब प्रान्तको सीमावर्ती जिल्ला अटकको जेलमा पठाइएको छ।उनलाई तीन वर्षको जेल र जरिवानाको सजाय सुनाइएपछि पक्राउ गरेर जेल पठाइएको हो।इमरान खानलाई पक्राउ गरेपछि सुरुमा हेलिकोप्टरबाट इस्लामावाद ल्याएको खबर आए पनि पछि प्रहरीले उनलाई सडक मार्गबाटै पाकिस्तानको राजधानी सहर पुर्याएको थियो। त्यहाँ उनको स्वास्थ्य परीक्षण गरिएपछि अटक जेल लगिएको हो।पञ्जाबको जेल विभागका एक अधिकारीले पीटीआई अध्यक्ष तथा पूर्व प्रधानमन्त्री इमरान खानलाई जेलमा सरुवा गरेपछि सामान्य नियमअनुसार उनको पक्राउ पुर्जीको जाँच गरिने बताए।त्यसपछि उनको कुनै पुरानो चिकित्सकीय जाँचको विवरण छ भने त्यसको परीक्षण गरिनेछ अनि जेलमै उनको ताजा स्वास्थ्य परीक्षण पनि हुनेछ।जेलका अधिकारीहरूका अनुसार कुनै पनि कैदीलाई कारागारमा पुर्याउँदा स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ।यसपछि इमरान खानसँग भएका उनका व्यक्तिगत सामान उनीबाट लिएर अधिकारीलाई सुम्पिइनेछ र जेलको भण्डारण कक्षमा राखिनेछ। त्यस्ता वस्तुहरू कैदी जेलबाट छुट्दा फिर्ता गरिन्छ।
अधिकारीहरूका अनुसार पूर्व प्रधानमन्त्री खानको स्वास्थ्य परीक्षण र उनीबाट बहुमूल्य सामान लिएपछि उनलाई ब्यारेकमा पठाइनेछ।
