सिँजादर्पण काठमाण्डौँ।। नेपाल भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हाइ येनले दुई देशको सम्बन्ध बिगार्ने प्रयास भइरहेको आशङ्का व्यक्त गरेको विवरण बाहिरिँदा सत्ताधारी दलका नेताहरूले नेपाल कुनै पनि कित्तामा नउभिने बताएका छन्।चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाङ्ग्लादेशको भ्रमण सम्पन्न गरेर नेपाल आएकी येनले प्रमुख दलका नेताहरूसँग भेटवार्ता गर्नुका साथै राजनीतिक दलका प्रतिनिधिहरूसँग संयुक्त छलफल गरेकी थिइन्।आफ्नो सम्बोधनका क्रममा उनले नेपाल र चीनले प्रगति गरेको देख्न नचाहनेहरू रहेका भन्दै दुई देशबीचको सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिएको कार्यक्रममा सहभागी नेताहरूले बताएका छन्।
कुनै मुलुक विशेषलाई किटान नगरी चिनियाँ नेत्रीले दिएको अभिव्यक्तिले हालैका वर्षमा छोटो समयमा नै बेइजिङले नेपालमा आर्जन गरेका प्रभाव केही कमजोर हुँदा चीनबाट व्यक्त भएको निराशाका रूपमा अर्थ लगाइएका छन्।नेपाली नेताहरूले एक चीन नीतिप्रति आफूहरू प्रतिबद्ध भएको बताउने गर्छन् र कुनै पनि चीन विरोधी गतिविधि देशभित्रबाट हुन नदिने धारणा राख्ने गरेको पाइन्छ।येनले राजनीतिक दलका नेताहरूसँगको अन्तरक्रियामा नेपाल चीन सम्बन्धमा देखिएका चुनौती, चीन लक्षित परियोजनाहरूमा भइरहेका ढिलासुस्ती र नेपाल र चीनका राजनीतिक दलहरूबीचको सम्बन्धबारे धारणा राखेको विवरणहरू आएका छन्।त्यसक्रममा उनले कतिपय देशले नेपाल चीन सम्बन्धमा आँच पुर्याउन खोजेको र कतिपयले चीन विरोधी गतिविधि बढाएको धारणा राखेको अङ्ग्रेजी दैनिक अखबार द काठमाण्डू पोस्टले जनाएको छ।
