सिँजादर्पण सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय एमयूमा सोमबार स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै छ । मतदानका लागि बिहान साढे ८ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको छ ।निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र अबको केही बेरमा मतदान हुने निर्वाचन अधिकृत खगेन्द्र अधिकारीले जानकारी दिए । ‘सबै तयारी पूरा भइसकेको छ । ७ बजेबाट नै मतदान हुने भनिएको हो । तर अलीकति ढिला हुने भएको छ,’ उनले भने ।यसअघि पटक–पटक निर्वाचन मिति तय हुँदा पनि उच्च अदालतमा रिट दायर भएपछि स्ववियु निर्वाचन स्थगित हुँदै आएको थियो । ६ वर्ष पछि हुन लागेको स्ववियु निर्वाचमा ४ हजार ३८३ विद्यार्थीले मतदान गर्दैछन् ।
स्ववियु निर्वाचनले विश्वविद्यालयमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० जना प्रत्यक्ष र ९ जना समानुपातिक मतबाट गरी १९ जनाको कार्यसमिति चयन हुनेछ ।स्ववियु अध्यक्षमा यसपटक सात भ्रातृ सङ्गठन र एक स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृत अधिकारीका अनुसार नेविसंघबाट विवेक खड्का, अनेरास्ववियुबाट जगतजंग शाही, अखिल ९क्रान्तिकारी०बाट प्रकाश विक, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट विकल्प वली र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार उम्मेदवार छन् ।त्यस्तै अखिल नेपाल विद्यार्थी युनियन ९समाजवादी० चीनबहादुर सहकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाट लेलिनकुमार रेग्मी र स्वतन्त्र उम्मेदवार मिलन बिसीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । चुनाव पछि कस्ले जित्छ त्यो भने हेर्न वाकी छ ।
