सिँजादर्पण काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी ले करियरका ९०० गोल पूरा गर्दै विश्व फुटबलमा नयाँ इतिहास रचेका छन् ।इन्टर मियामी बाट खेल्दै उनले कन्काकाफ च्याम्पियन्स कप अन्तर्गत न्यासभिल एससी विरुद्ध खेलको सातौं मिनेटमै गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन् ।३८ वर्षीय मेसी ९०० गोलको कीर्तिमान छुने इतिहासकै दोस्रो खेलाडी बनेका छन् । यसअघि यो उपलब्धि क्रिस्टियानो रोनाल्डोले हासिल गरिसकेका छन् ।
मेसीले आफ्नो करियरमा बार्सिलोना, पेरिस सेन्ट(जर्मेन, अर्जेन्टिना राष्ट्रिय टोली र हाल इन्टर मियामीबाट खेल्दै गोल गरेका छन् ।बार्सिलोनाबाट उनले १७ वर्षको अवधिमा ६७२ गोल गरेका थिए भने कुल ७७८ खेल खेलेका थिए । त्यसक्रममा उनले १० ला लिगा, ४ च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका थिए ।
पछि पेरिस सेन्ट(जर्मेन मा दुई सिजन बिताउँदा उनले ७५ खेलमा ३२ गोल गरेका थिए । त्यहाँ उनले नेयमार र किलियन एमबाप्पेसँग मिलेर आक्रामक ‘ट्रायो’ बनाएका थिए ।सन् २०२३ मा इन्टर मियामीमा आबद्ध भएपछि मेसीले ९२ खेलमा ८१ गोल गरिसकेका छन् र टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा मेसीले अर्जेन्टिनाका लागि १९६ खेलमा ११५ गोल गरेका छन् र टोलीलाई विश्वकप जिताएका छन् ।
तथ्यांकअनुसार मेसीका ९०० गोलमध्ये ७५५ गोल बायाँ खुट्टाबाट, १११ गोल दायाँ खुट्टाबाट, ३० हेडमार्फत र ४ अन्य तरिकाबाट आएका छन् । उनले ११२ पेनाल्टी र ७० फ्रि–किकबाट गोल गरेका छन् ।
