सिँजादर्पण काठमाण्डौँ ll महँगी र मन्दीको मारमा बजार परेको बेला सोमवार अर्थमन्त्री प्रकाशशरण महतले झन्डै १७ खर्ब रुपैयाँको बजेट संसद्मा पेस गरेका छन्।अर्थमन्त्री महतले आगामी साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेका छन्।राजस्व सङ्कलनमा आएको कमीसँगै सरकारले अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेटको आकार घटाएको छ। अर्थमन्त्रीका अनुसार यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा २।३७ प्रतिशत कम हो।गत वर्ष नेपाली कांग्रेसको नेतृत्वको गठबन्धन सरकारमा माओवादीका तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट घोषणा गरेका थिए।तर प्रतिनिधिसभा निर्वाचनपछि अर्थमन्त्री बनेका नेकपा एमालेका विष्णु पौडेलले माघमा झन्डै २।५ खर्ब रुपैयाँले बजेट कटौती गर्दै बजेटको आकार १५ खर्ब ४९ अर्ब रुपैयाँ बनाएका थिए।यो वर्ष अनुमान गरिएकोभन्दा निकै कम राजस्व उठेको छ। अघिल्लो बजेटले साढे १२ खर्ब रुपैयाँ राजस्व उठाउने भनेकोमा मध्यजेठसम्म आइपुग्दा झन्डै सवा ८ खर्ब रुपैयाँ मात्र उठ्न सकेको छ।राजस्व सङ्कलन कम भएपछि अर्थ मन्त्रालयले माघमा यो आर्थिक वर्षको चालु खर्चका लागि छुट्टाइएको तर खर्च हुन नसकेको बजेटमा २० प्रतिशत कटौती गरेको थियो।
