सिँजादर्पण काठमाण्डौँ ।। चीन सरकारले सुस्ताउँदो अर्थतन्त्र माथि उकास्न बालबालिकाको हेरचाहका लागि अनुदानदेखि अतिरिक्त ज्याला र तलबी बिदामा सुधारसहितका सुविधाहरू दिने वाचा गरेको छ।भाँडा माझ्ने, घर सजाउनेदेखि विद्युतीय सवारी साधन र स्मार्टवाचसम्म खरिदका लागि घोषणा गरिएको कुल ४१ अर्ब अमेरिकी डलर बजेटको सहुलियत कार्यक्रमपछि यस्तो वाचा गरिएको हो।बेइजिङले चिनियाँ मानिसहरूलाई आफ्नो खल्ती खोल्न खर्चको लहर चलाइरहेको छ। तर सरल अर्थमा चिनियाँहरूले धेरै खर्च गरिरहेका छैनन्।सरकारी तथ्याङ्कले खुद्रा बिक्री सन् २०२५ को पहिलो दुई महिनामा ४ प्रतिशतले बढेको देखायो। उपभोगको तथ्याङ्कमा यो सकारात्मक सङ्केत थियो।शाङ्घाईलाई छोड्ने हो भने बाँकी सहरहरूमा नयाँ र आकर्षक घरहरूको मूल्य गत वर्षको तुलनामा निरन्तर घट्दो छ।अमेरिका र अरू शक्ति राष्ट्रहरू कोभिड महामारीपछिको मूल्यवृद्धिसँग सङ्घर्ष गरिरहँदा चीनले ठिक विपरीत अवस्थाको सामना गरिरहेको छ। त्यहाँ मूल्य सस्तिने क्रममा छ। मूल्यवृद्धिको दर शून्यभन्दा कम भएको अवस्थालाई मूल्य घटेको मानिन्छ। पछिल्ला दुई वर्षको अवस्था हेर्दा चीनमा लगातार १८ महिनादेखि वस्तुको मूल्य सस्तो हुने क्रममा छ।उपभोक्ताहरूका लागि भाउ घट्ने कुरा राम्रो खबर जस्तो लाग्न सक्छ। तर मानिसहरूको उपभोगमा निरन्तर कमी आउनुले गहिरो आर्थिक समस्याको सङ्केत गर्छ।
